- १८ कार्तिक २०७९, शुक्रबार २१:०८
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापाले शुक्रबारदेखि घरदैलो थालेका छन्। चाबहिलको गणेश मन्दिरमा पूजा गरेर त्यो भन्दा पश्चिमतिरको वस्तीबाट उनले घरदैलोको सुरुवात गरे।
स्थानीयमाझ परिचित अनुहार भएकाले जानपहिचानको समस्या देखिएन। उनलाई नाम नभनी सिधै भोट माग्ने सुविधा थियो। कतिले ढुक्क हुन आश्वासन दिए, कतिले ‘हस्’ भने। कतिले दैलोभित्रै बोलाएर खादामाला र टीकासहित शुभकामना दिए।
झन्डै दुई घन्टाको घरदैलोपछि उनी एउटा घरको आँगनमा पुगे। जहाँ उनलाई स्वागत गर्न उमेरले ८७ को उकालो लागिसकेकी बुढीआमै गेटसम्म आइपुगिन्। उनी अगाडि आइन्, पछि-पछि किस्तीमा फूल, दही र खादामाला आइपुग्यो।

थापा उक्त क्षेत्रमा भोट माग्न आउँदै गरेको उनले केही मिनेटअघि मात्रै जानकारी पाएकी
रहिछन्। त्यसैले त्यति तयारी गरेर छतमा उक्लिएकी थिइन्। घरदैलो टोली गल्लीमा झुल्किहाल्यो। उनी हतार-हतार गेटतिर लम्किइन्, हात जोडिरहेका थापाको अनुहार नियालिन् र गमक्क अँगालो मार्दै गालामा चुमिन्।
फेरि खादा लगाउने क्रममा अनुहार नियालिन्। त्यसपछि उनको मुखबाट निस्कियो, ‘प्रधानमन्त्री हुने थुतुनो (अनुहार) छ।’
थापा मुस्कुराए मात्रै। शुभाशिष ग्रहण गरेर बाटो लाग्न खोजे। बुढीआमैले रोकिन्, ‘मेरो शुभाशिष छ। मैले आशिष लाग्छ।अब प्रधानमन्त्री भनेर नारा लगाऊ।’
घरदैलोका क्रममा उनले धेरै मतदाताको आँखामा आफूप्रतिको विश्वास पाए। राजनीतिको वर्तमान गन्जागोलबाट विश्वास उठिसकेकाहरुले पनि गगनका कारण थोरै भरोसा कायम रहेको बताए।










प्रतिकृया दिनुहोस्