- २८ माघ २०८१, सोमबार १९:०७
काठमाडौं । चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार दोस्रो चरण आन्दोलनमा काठमाडौंमा शक्ति प्रदर्शन, अवज्ञा तथा अवरोधका कार्यक्रम हुनेछ । आन्दोलन १९ फागुनपछि हुनेछ । अहिले सामाजिक सञ्जालमा लेखेर शिक्षकहरूले विद्यालय शिक्षक ऐन जारी गर्न दबाब दिइरहेका छन् ।
त्यसैगरी प्रमुख दलका नेता, सभामुख, मुख्यमन्त्री, मन्त्री दलका सचेतक लगायतलाई ध्यानाकर्षण गराउने कार्यक्रम महासंघको छ । स्थानीय तहमा पनि ध्यानाकर्षण, जिल्ला र प्रदेशमा आन्दोलन समिति बनाउने लगायतका काम महासंघले गरिरहेको छ । कालो पट्टी बाँधेर र जिल्लामा प्रदर्शन गर्नेसम्मको कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । स्थानीय, जिल्ला र प्रदेशमा आन्दोलन सकाएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने महासंघले जनाएको छ । २०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघ आन्दोलित भएको हो ।
‘समयमा ऐन आएन । विगतमा भएको सहमति अनुसार ऐन बनाउन फेरि आन्दोलनमा आउनु परेको हो,’ सुवेदीले भने, ‘निवृत्तिभरण अध्यादेश खारेज हुनुपर्छ । विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई प्रस्थान बिन्दु मान्नुपर्छ ।’
गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने भनिएको छ । यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ । तर सरकारले अध्यादेश आएको मितिबाट लागु हुने बताए पनि यसमा शिक्षकहरूले मानेका छैनन् ।
‘पुराना शिक्षकको पुरानो अनुसार र नयाँको हकमा ऐनमा समेटेर जानुपर्छ,’ अध्यक्ष सुवेदीले भने ।
विश्वविद्यालयमा जस्तै निवृत्तिभरण प्रयोजनका लागि शिक्षकको सबै अस्थायी अवधि गणना हुने व्यवस्था गरिनुपर्ने पनि उनले बताए ।










प्रतिकृया दिनुहोस्