- २८ आश्विन २०७९, शुक्रबार १९:१५
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं क्षेत्र नं ४ मा निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । बिहीबार आयोजना गरिएको बृहद् भेलामा क्षेत्रीय सभापति श्याम संगतले निर्वाचन परिचालन एवं प्रचारप्रसारको लागि एउटा समिति गठन गर्ने निर्णय गरेका छन् । यो समितिमा गठबन्धनमा आबद्ध अन्य दलका कार्यकर्ताहरुको समेत प्रतिनिधि राख्ने बताइएको छ ।
समिति गठनको घोषणा गरिए पनि समितिलाई पूर्णता दिने र काम सुरु भने भइसकेको छैन । साथै, समितिको जिम्मेवारीको बारेमा पनि कुनै ठोस निर्णय भएको छैन । तर अरु दलका प्रतिनिधिहरु समेत राखेर छिट्टै नै यसको प्रभावकारी काम सुरु गर्ने तयारीमा रहेको नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय समितिले जनाएको छ ।
बिहीबारको कार्यक्रम अनुसार समितिको संयोजकमा सभापति संगत रहने बताइएको छ । काँग्रेसबाट सबै क्रियाशील सदस्यलाई सदस्य बनाउने तयारी पनि छ । साथै, निर्वाचनमा गठबन्धनमा आबद्ध उम्मेदवारहरुलाई जिताउनको लागि अन्य समिति पनि गठन गर्दै जाने तयारी रहेको क्षेत्रीय सचिव दामोदर बद्री भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापाको नेतृत्वमा शनिबारदेखि टोलभेला सुरु हुन लागेको छ । काठमाडौं महानगरपालिकाको वडा नं ७ बाट सुरु हुने भेला कात्तिक १३ गतेसम्म चल्ने भट्टराईले जानकारी दिए । उनका अनुसार यो क्षेत्रमा १४० वटा टोल इकाई रहेका छन् । सबै इकाईमा महिला समूह, युवा समूह लगायत समिति बनिसकेको भट्टराईले जानकारी दिए ।
गगन थापाको सचिवालय अनुसार कात्तिक १३ सम्म टोलभेला सकेपछि घरदैलोको कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ ।










प्रतिकृया दिनुहोस्