- ११ मंसिर २०८१, मंगलवार ०७:१२
सरकारले सुनको भन्सार दरमा ५० प्रतिशत कटौती गरेपछि नेपाली बजारमा सुनको मूल्य एकै दिनमा तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा किनबेच भएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार थियो । सम्भवतः नेपाली बजारमा सुनको मूल्यमा एकै दिनमा आएको यो गिरावट हालसम्मको उच्च हो ।
आइतबारसम्म सुनको आयातमा लाग्ने भन्सार महसुल दर २० प्रतिशत थियो । तर, सोमबारदेखि लागू हुने गरी त्यसलाई १० प्रतिशतमा सीमित राखिएको छ । सोही कारण सुनको मूल्यमा कमी आएको महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए ।
नेपालमा भन्सार दर र अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा सुनको मूल्य निर्धारण गरिन्छ । सरकारले भन्सार महसुल दर घटाएपछि लागत पनि घट्न गई मूल्य घटेको उनको भनाइ छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि एक सय १५ रुपैयाँले घटेर प्रतितोला त्यो १८ सय ४५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको आयातमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ ।
यसअघि नेपाल र भारतमा सुनमा लगाइएको भन्सार महसुल दर १५–१५ प्रतिशत थियो । नेपालको पछिल्लो बजेट (१५ जेठ ०८१) मार्फत त्यसलाई बढाएर २० प्रतिशत पुर्यायो । त्यसपछि आएको भारतको बजेटले भने सुनको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनायो । साथै, भारतमा सुन आयात गर्दा थप ३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसरी नेपालमा भन्दा कम कर लाग्ने भएपछि भारतमा सुन सस्तो भयो । जसले गर्दा सीमा क्षेत्रका नेपालीले भारतमै गएर सुनका गरगहना बनाउन थाले । साथै, भारतमा सस्तोमा सुन खरिद गरी भन्सार छलेर नेपालमा तस्करी हुन थालेको आशंका गरिएको थियो । त्यसरी नेपाली बजारमा अवैध सुन परिचालन भएको आशंकापछि सरकारले सुन र चाँदीमा लगाएको भन्सार दर घटाएको हो ।
अब नेपाल र भारतमा सुनको मूल्यमा कति फरक ?
भन्सार महसुल घटे पनि नेपाल र भारतमा १० ग्राम सुनको मूल्यमा चार हजार रुपैयाँको अन्तर छ । यसअघि यस्तो मूल्यमा १६ हजार रुपैयाँको अन्तर थियो ।
भन्सार दर घटाउनुअघि आइतबार भारतमा १० ग्राम सुनको मूूल्य ७९ हजार ६ सय ४० भारु (एक लाख २७ हजार चार सय २४ नेपाली रुपैयाँ) थियो । सोही दिन नेपालमा १० ग्राम सुनको मूल्य एक लाख ४३ हजार तीन सय ४५ रुपैयाँ थियो ।
भन्सार दर घटाएपछि अर्थात् सोमबार भारतीय बजारमा १० ग्राम सुनको मूल्य नेपाली रुपैयाँमा एक लाख २५ हजार ६ सय ८० रुपैयाँ थियो । सोही दिन नेपाली बजारमा एक लाख २९ हजार सात सय १५ रुपैयाँ छ ।
यसरी विगतमा नेपालमा भन्दा भारतमा सुनको मूल्य धेरै नै कम भएपछि तस्करी बढेको आशंका गरिएको थियो । अहिले नेपाल र भारतमा सुनको मूल्यमा आंशिक मात्रामा मात्रै फरक देखिएको छ, त्यसले गर्दा अवैध रूपमा सुन भित्रिने प्रवृत्ति नियन्त्रण हुने सरकारको अनुमान छ ।
पुरानो अर्डर रद्द हुन थाल्यो, तर नयाँ माग बढ्ने अपेक्षा
एकैपटक सुनको मूल्य उच्च मात्रामा घटेपछि सुनचाँदी पसलमा पुराना अर्डरहरू रद्द हुन थालेका छन् । पुराना अर्डरहरू पुरानै मूल्यअनुसार खरिद गर्नुपर्ने कारण ग्राहकले अर्डर रद्द गर्न थालेको रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले बताए । महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले पनि यसले औपचारिक रूपमा गरिने सुनको कारोबार बढ्ने बताए । ‘भन्सार महसुल बढी हुँदा सुनको मूल्य पनि उच्च रहेकाले तस्करीबाट सुन बजारमा आएको थियो । यसले औपचारिक सुनको कारोबारलाई नै विस्थापित गरेको थियो । अब भन्सार महसुल कम भएसँगै औपचारिक रूपमा गरिने सुनको कारोबारमा वृद्धि हुने अपेक्षा छ,’ उनले भने, ‘साथै, ग्राहकबाट सुनको गरगहनाको माग पनि बढ्न सक्छ । अधिकांश ग्राहकले खरिद नै गर्न नसक्ने गरी सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँभन्दा माथि गएको थियो । त्यो त अहिले डेढ लाख हाराहारीमा आएको छ । यसले माग बढाउँछ भन्ने अपेक्षा छ ।










प्रतिकृया दिनुहोस्