- २ मंसिर २०८०, शनिबार १८:१५
कैलालीको धनगढी बजारमा गए राति भीषण आगलागी भएको छ। धनगढी उपमहानगरपालिका– १ एनएन चोकस्थित भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागीबाट अस्पतालसहित अन्य पसलहरूमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सू सेन्टरमा विद्युत् सर्ट भई आगो लाग्दा सँगै रहेका सारथि अस्पताल, गरिमा पोलिक्लिनिकसहितका पसलमा आगलागी भएको हो।
टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमालादेवी सप, (बेबी सपको गोदाम), बासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगतबहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ सेन्टर, यशोदा साउदले सञ्चालन गरेको न्यू सदीक्षा इन्टरप्राइजेज, गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सू–सेन्टर, जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्ससहित सारथि अस्पतालमा समेत आगो लागेको प्रवक्ता चन्दले बताए।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले बताए। शुक्रबार राति १ बजेतिर लागेको आगो शनिबार बिहानीपख मात्रै नियन्त्रणमा आएको थियो। धनगढी, गोदावरी, पुनर्वाससहितका पालिकाबाट दमकलसहित मगाइएको सुरक्षाकर्मी र नगर प्रहरीको सहयोगमा स्थानीयले आगो निभाएका थिए।










प्रतिकृया दिनुहोस्