- ३० असार २०७९, बिहीबार २२:२६
असार ३०, काठमाडौं । प्रतिवेदनअनुसार देशभरका १ सय ९२ स्थानीय तहले विद्यालय बन्द रहेको अवस्थामा पनि दिवा खाजाको ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेका छन् ।
विद्यार्थी विद्यालयमा उपस्थिति नभएको दिन यकिन गरी खर्च गरिएको रकम असुल्न महालेखाले सुझाव दिएको छ । वीरगन्ज महानगरपालिकाले विद्यार्थी संख्या र हाजिरीको प्रमाणित अभिलेखबिनै ८७ विद्यालयलाई १ करोड ३८ लाख ९८ हजार निकासा गरेको छ । महालेखाले उक्त रकम बैंकमा रोक्का रहेको अवस्थामा रहेकाले बढी रकम फिर्ता लिन भनेको छ । दिवा खाजा कार्यक्रम कार्यान्वयन पुस्तिकामा विद्यार्थी हाजिरीका आधारमा रकम खर्च गर्न पाउने व्यवस्था छ ।
कोभिड महामारीलगायत विविध कारण विद्यालय बन्द भएको दिनको रकमसमेत भुक्तानी गरेर मनमौजी हुने गरेको हो । गत वर्ष पनि स्थानीय तहले विद्यालय बिदा रहेको दिनमा पनि दिवा खाजाको रकम खर्च भएको महालेखाले औंल्याएको थियो ।
वार्षिक १ सय ८० दिनका लागि संघीय सरकारले अनुदानका रूपमा प्रतिविद्यार्थी १५ रुपैयाँको दरले बजेट स्थानीय तहमा पठाउँछ । महालेखाले विद्यार्थी हाजिर प्रमाणित अभिलेख झिकाई उक्त खर्चको यथार्थ यकिन गर्नुपर्ने समेत औंल्याएको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको संख्या यकिन गरी भुक्तानी दिनुपर्ने व्यवस्था निर्देशिकामा छ । २०७८ वैशाख ११ देखि असार मसान्तसम्म विद्यालय सञ्चालन नभएकामा प्रदेश १ का कन्काई, मेचीनगर, दमकलगायत १९ नगरपालिकाले दिवा खाजाबापत ६ करोड ९३ लाख ७० हजार रुपैयाँ निकासा गरेको पाइएको छ । https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:32c025ab-a37a-3741-886e-ac12f77eb676










प्रतिकृया दिनुहोस्