- १९ असार २०८१, बुधबार १३:०१
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा ‘कालो टेप’ लगाएर विरोध जनाएका छन्।
बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय,चःमति, वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले मुखमा माक्स र त्यस बाहिरबाट ‘कालो टेप’ लगाएर उपस्थित भएका हुन्।
जारी बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण, पार्टी सरकार बाहिर रहने कुरा र महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको छ।
पछिल्लो समय रास्वपाको आन्तरिक विरोध चर्किँदै गएकाे छ। महामन्त्री ढकालले पार्टीका सभापति रवि लामिछानेसमक्ष बुझाको प्रतिवेदनले विवादलाई झनै ठूलो रूप दिएको हो। ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधबार गृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई बुझाएका थिए।
महामन्त्री ढकालले बुझाएको प्रतिवेदन र त्यसपहिले नै समाचारहरू बाहिरिने कुराले सभापति लामिछाने र महामन्त्री ढकालको सम्बन्धमा दरार आउनुका साथै उनीमाथिको कारवाहीका हल्लासमेत चलेका थिए। यद्यपि, यो कुरा स्वीकार्न दुवै पक्ष तयार भएनन्।










प्रतिकृया दिनुहोस्