- ९ जेष्ठ २०८१, बुधबार २१:११
जेठ ९, लुम्बिनी । बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मिति २०८१ जेठ ९ गते लुम्बिनीमा बुद्ध जयन्ती विशेष महाेत्सवकाे आयोजना गरि विभिन्न कार्यक्रमहरू गरेको छ ।
सोही दिनको पूर्वमध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात भएको दुतावासले जनाएको छ ।
भारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरूले उक्त गोष्ठीमा सहभागीता जनाई आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार, अन्तर्दृष्टि साझा गर्नुभएको थियोे । वहाँहरूले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पार्नुभएको थियो।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको कार्यक्रममा मुख्य आकर्षण लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ रहेको दुतावासले बताएको छ ।
‘भगवान् बुद्ध र वहाँका शिक्षाहरू’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो । जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट चित्रहरु राखिएका थिए। ति चित्रहरूमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरुलाई चित्रण गरिएको छ ।
वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित साँस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए। हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरूले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो ।

कार्यक्रममा भारतकी कविता द्विवेदी र वहाँको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा. सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरूको मार्मिक प्रस्तुति र सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरूको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रूपमा रहेको जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताउनुभयो। नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरू हुन् जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरुमा फैलिएको थियो। राजदूतले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने कुरामा जोड दिनुभएको थियोे ।
त्यसैगरी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त साँस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरुको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले हाम्रा दुई देशबीचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताउनुभयो। वहाँले यस्ता कार्यक्रम गर्वको स्रोत मात्र नभई ज्ञानको खजाना रहेको बताउनुभयो। वहाँले विभिन्न क्षेत्रबीचको सहकार्यले मजबुत बनाएको नेपाल र भारतबीच सदियौं पुरानो, बहुआयमिक सम्बन्ध रहेको बताउनुभयो।


कार्यक्रममा नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री जोख बहादुर महरा, कैयौं वरिष्ठ प्रदेशीय नेताहरू लगायत लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा वरिष्ठ पदाधिकारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूका साथै सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भारतको सिक्किमको विस्तृत रूपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरुप प्रदान गर्नुभएको थियो।










प्रतिकृया दिनुहोस्