- १३ फाल्गुन २०८०, आईतवार १९:३९
सर्लाही । कर्मैया चउरमा शनिवार फरक दृश्य देखियो । हजारौं शिक्षक, अभिभावक र विद्यार्थीहरु, सयौं शिक्षाप्रेमी, कलाकार, कर्मचारीहरुको उपस्थिति ! सांस्कृतिक झाँकी र परम्परागत, जातीय भेषभुषामा सजिएका विद्यार्थीहरुको उत्साहले थप रौनक बढाएको थियो । अचानक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिले सबैको ध्यान खिच्यो ।
एकाएक एकैपटक चार हजार बढी विद्यार्थीहरु चउरको बीचमा पुगेर नृत्य गर्न थाले । सबैको ध्यान त्यो विशाल नृत्यमा टक्क अडिइराख्यो । त्यसपछि सातै प्रदेशको भौगोलिक पहिचान र संस्कृति झल्किने विद्यार्थीको प्रस्तुतिले सबैको मन जित्यो ।
विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो भन्दै प्रधानमन्त्री प्रचण्डले सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिनेमा जोड दिए ।
कार्यक्रमका अवसरमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक समेत लोकार्पण गर्न भ्याए । साथै, शिक्षालाई विकासको मेरुदण्डको रुपमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री शैक्षिक महोत्सवबाट उत्साहित भएपछि हौसिएका वागमती नगरपालिकाका प्रमुख भरत थापाले कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमूनाको रुपमा सम्पन्न भएको बताए । महोत्सव सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन बन्ने उनको विश्वास थियो ।
महोत्सवमा पूर्व शिक्षामन्त्री गरिरिराजमणि पोखरेल, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, मधेश प्रदेशका मन्त्रीहरुलगायतले महोत्सवलाई विद्यार्थीको प्रतिभा प्रस्फुटन सँगै विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारको शैक्षिक मार्गचित्र बुझ्ने अवसरको रुपमा लिइएको बताएका थिए ।
कार्यक्रममा सर्लाहीसँगै छिमेकी जिल्लाकासमेत गरी ५० हजार बढी शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।










प्रतिकृया दिनुहोस्