- २९ माघ २०८०, सोमबार ०९:२९
राजधानीको भृकुटी मण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रेमीहरुको घुइँचो लागेको छ। २९औँ संस्करणको यस प्रदर्शनीलाई चौथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन्।
आइतबारबाटै सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्यहरू, प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदहरू, विभिन्न आयोगका प्रतिनिधिहरू तथा नीति निर्माण तहका अधिकारीहरू, विभिन्न पालिकाका प्रमुख/उपप्रमुखहरूले इन्फोटेक अवलोकन गरेका छन्।
यस अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, पूर्व मन्त्री तथा सांसद प्रकाशमान सिंह, सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाही, गणेश पराजुली लगायत क्यान इन्फोटेकमा राखिएका प्रविधिहरू हेर्न पुगेका थिए।
त्यस्तै सांसद एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसी, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आईटी विज्ञ प्रकाश रायमाझी, पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिंह, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, माओवादीको युवा संगठन वाईसीएलका अध्यक्ष सुवोधराज श्रीपाली, काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर लगायतले क्यान इन्फोटेकको प्रत्यक्ष अवलोकन गरेका थिए।

त्यस्तै देशका विभिन्न पालिकाका प्रमुख/उपप्रमुहरू, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) तथा नेपाल टेलिकमका उच्च तहका अधिकारीहरूले समेत आइतबार प्रदर्शनीको अवलोकन गरेका थिए। सो अवसरमा उनीहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेक जस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्टिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। साथै नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
यसअघि इन्फोटेकमा कलाकारहरू सञ्जोक कोइरालादेखि महानायक राजेश हमालसम्म र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लगायत पनि पुगेका थिए।
सोमबार (माघ २९) सम्म सञ्चालन हुने ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ।










प्रतिकृया दिनुहोस्