- १ माघ २०८०, सोमबार ११:५९
माघ १, काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिरमा महोत्सव शुरु हुँदैछ । आज महोत्सवको १० बजेबाट औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको छ । यस वर्ष तारेभिर महोत्सवको आयोजक तारेभिर महिला समुह रहेको छ ।
काठमाडौंको प्रसिद्ध आन्तरिक पर्यटकीय क्षेत्र, हाईकिङ क्षेत्र तथा तामाङ समुदाय र संस्कृति जीवन्त रहेको तारेभिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्ने उदेश्यले शुरु भएको यो वर्ष १० औं महोत्सव हो ।
गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भाग देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगानलाई बाह्य एवं आन्तरिक पर्यटकका बीच प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो ।
तारेभिर क्षेत्रमा भूमेश्वर र तारेभिर महादेवको शिला छ । परापूर्वकालमा तारेभिरमा गुफा थियो । गुफामा भगवान् महादेव बस्नुहुन्थ्यो । विवाह, व्रतबन्धजस्ता धार्मिक कृत्यमा भाँडाकुँडालगायत सामग्री आवश्यक पर्दा गुफामा गएर माग्दा पाइन्थ्यो । धार्मिक कार्यक्रम सकिएपछि माग्नेले भाँडा माझेर गुफामै लगेर राख्ने गर्थे । एक जनाले भाँडा नमाझी राखिदिँदा गुफा बन्द भई भाँडा पाउन छोडेको किंवदन्ती यहाँका स्थानीयवासीमा प्रचलित छ ।










प्रतिकृया दिनुहोस्