- ३१ जेष्ठ २०८०, बुधबार १७:२४
धनगढीका नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकामा आउने सेवाग्राहीले आत्मसम्मान महसुस गरुन् भनेर सुविधा सम्पन्न र प्रविधिमैत्री प्रतीक्षालय सञ्चालनमा ल्याइएको बताए । ‘नागरिक सर्वोत्तम हुन् भन्ने मनसायले सेवा दिन खोजेका हौँ । सेवाग्राहीले हिजो रुखमुनि बस्नुपर्थ्याे,’ मेयर हमालले भने, ‘सेवाग्राहीलाई सहजता र आत्मसम्मान महसुस होस् भनेर प्रतीक्षालय बनाएका हाैँ ।’
आफू निर्वाचित भएर आएपछि सुरुमै यो निर्णय गरे पनि भवन बन्न केही समय लागेको उनले बताए । प्रतीक्षालयमा सेवाग्राही जम्मा भइसकेपछि मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिृकत त्यही कक्षमा गएर सेवाग्राहीको गुनासो सुन्ने अभ्यास थालिने पनि उनले बताए ।
उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाले २२ लाख ५१ हजार रुपैयाँको लागतमा प्रतीक्षालय भवन स्थापना गरिएको जानकारी दिइन् । एसी, डिजिटल वडापत्र, खानेपानी, टिभीलगायत प्रविधि र सुविधामा थप छ लाख २८ हजार रुपैयाँ खर्च भएको उनले बताइन् । ‘कतिपय कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यस्तो बेला सेवाग्राहीलाई सहज होस् भनेर सुविधा सम्पन्न प्रतीक्षालय स्थापना गरेका हौँ,’ उनले भनिन् ।
प्रतीक्षालयको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले उपमहानगरको यो कार्य प्रशंसनीय रहेको बताए । यसले लामो समय लाइनमा बस्नुपर्ने, घाममा कुर्नुपर्ने कार्यबाट सेवाग्राहीले मुक्ति पाउने उनले विश्वास व्यक्त गरे । जनताको पहिलो सरोकार राख्ने निकाय स्थानीय तह भएकाले स्थानीय तहले सेवा प्रवाहलाई प्रभावकारी बनाउनेसँगै गुनासो सहज रूपमा सम्बोधन गर्ने गरी काम गर्नुपर्ने धारणा उनले राखे ।










प्रतिकृया दिनुहोस्