- १० मंसिर २०७९, शनिबार १७:०९
सुर्खेत : हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले क्षति व्यहोरेको छ। एमालेले यसपटक कर्णालीमा प्रतिनिधिसभाका सबै सिट गुमाएको छ। प्रतिनिधिसभाका १२ वटा सिटमध्ये एमालेले एउटा पनि सिट जित्न सकेन। प्रदेशसभातर्फ पाँच सिट जिते पनि एमालेले प्रतिनिधिसभातर्फ भने सबै सिट गुमाएको हो।
यसअघि २०७४ को निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ कर्णालीका १२ मध्ये ६ सिट जितेको थियो। त्यसबेला एमाले र माओवादीबिच गठबन्धन थियो। बाम गठबन्धको बलमा त्यतिबेला एमालेले सुर्खेत र दैलेखका दुई-दुई, डोल्पा र मुगुमा एक-एक गरी ६ सिट जितेको थियो। अघिल्लो पटक बाम गठबन्धनबाट लाभ लिएको एमाले यसपाली भने सत्ता गठबन्धनसँग पराजित हुन पुगेको छ।
यसपटक कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरू पराजित भएका छन्। सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्दा यसपाली कर्णालीमा क्षति व्यहोर्नु परेको एमालेको भनाइ छ।
एमालेले सबै सिट गुमाउँदा यसपाली सबैभन्दा धेरै लाभ कर्णालीमा नेपाली कांग्रेसलाई भएको छ। २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ एउटा पनि सिट जितेको थिएन। अघिल्लो निर्वाचनमा शून्य बनेको कांग्रेसले यसपाली भने गठबन्धनको बलमा प्रतिनिधिसभातर्फ चारवटा सिट जितेको छ। कांग्रेसले सुर्खेतका दुई, दैलेखमा एक र मुगुमा एक गरी चार वटा सिट जितेको हो।










प्रतिकृया दिनुहोस्