- २८ आश्विन २०७९, शुक्रबार १२:२७
असाेज २८, काठमाडौ । काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एकैपटक नेपाली कांग्रेसका प्रभावशाली ३ युवा नेताले टिकट पाएका छन् । यस अघि गगन थापा र विश्वप्रकाश शर्माले मात्रै प्रतिनिधिसभामा एकैपटकट टिकट पाएका थिए । तर यसपटक अर्का नेता प्रदीप पौडेलले पनि काठमाडौं ५ बाट टिकट पाएका हुन् ।
सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपा मिलेर लड्न लागेको चुनावमा यी तीन नेता एकैपटक प्रतिनिधिसभामा भिड्न लागेका हुन् । तीनमध्ये महामन्त्रीद्वय थापा काठडमाडौं ४ र शर्मा झापा १ बाट उम्मेदवार बनेका हुन् । अर्का युवा नेता पौडेलले यसपटक काठमाडौं ५ मा टिकट पाएका छन् ।
नेविसंघका पूर्व महामन्त्री हुन् थापा सभापति नबनी महामन्त्रीबाट कांग्रेस राजनीतिमा छिरेका उनी छोटो समयमा धेरै चर्चा बटुल्ने नेतामध्येमा पर्छन् । १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भए पनि १४ औं मा भने थापाले महामन्त्रीमा जित हासिल गरे । उनी २०६४ सालमा समानुपातिक सांसद बनेयता प्रतिनिधिसभामा काठमाडौं ४ बाट २०७० र २०७४ सालको निर्वाचन जित्न सफल भए । यसपटक यही क्षेत्रबाट उठेका छन् । थापा स्वास्थ्यमन्त्री भइसकेका छन् । थापाले अघिल्लोपटक यो क्षेत्रबाट एमालेका राजन भट्टराईलाई ३४१८ मतले पराजित गरेका थिए ।
यसपटक फेरि पनि काठमाडौं ४ बाटै उम्मेदवार बनेका छन् । उनकाे प्रतिस्पर्धी भने पुरानै राजन भट्टराई छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं ४ का वडाध्यक्षले पाएको मतमा एमालेको १६५०७, कांग्रेसको १५७६३, नेकपा एसको २४१४, राप्रपाको २२९३, माओवादीको ८४४ र जसपाको ३१७ मत छ । गठबन्धनको मत १९०२१ छ । एमालेको १६५०७ छ । एमालेभन्दा गठबन्धन तीन हजार हाराहारी मतले अगाडि छ । तर राप्रपाले एमालेलाई यो क्षेत्रमा समर्थन गरेर गठबन्धन र एमालेको मत बराबरी जस्तै देखिन्छ । यसैले गगन थापालाई यसपटक एमालेका राजन भट्टराईविरुद्ध जित निकाल्न सहज छैन । अघिल्लोपटक पनि राजनलाई गगनले ३४१८ को झिनो अन्तरले पराजित गरेका थिए ।
एमालेको राम्रो प्रभावलाई तोड्न सकेमात्रै गगनले यसपटक चुनाव जित्नेछन् । कांग्रेसमा सबैभन्दा लोकप्रिय नेता हुनुको फाइदा गगनलाई छ । यसको फाइदा उनले उठाउन सक्नेछन् । लगातार हारेकोले राजनलाई यसपटक थप दबाब छ । यद्यपी संगठित भोटमा एमाले पनि उत्तिकै बलियो छ । यसैले यसपटकको चुनाव रोचक हुने अनुमान गरिएको छ । यस्तै युवा नेता विश्वप्रकाश शर्मा पनि नेविसंघका पूर्व सभापति हुन् । उनी पनि उत्तिकै चर्चित युवा नेता हुन् । १३ औं महाधिवेशनपछि पार्टी प्रवक्ता बनेका शर्मा १४ औं महाधिवेशनमा भने महामन्त्री बन्न सफल भए । ठूला गुटबाट नपरे पनि आफ्नो लोकप्रियताको आधारमा शर्मा महामन्त्रीमा चुनिन सफल भएका हुन् । पार्टीको आन्तरिक राजनीतिमा सफलताको खुट्किलो चढ्दै आए पनि शर्मा अहिलेसम्म सांसद हुन सकेका छैनन् । यसअघि दुईपटक उम्मेदवार बनेका उनी दुवैमा झापाबाट पराजित हुन पुगे ।
अघिल्लोपटक झापा १ बाट शर्मा माओवादीका राम कार्कीसँग पराजित हुन पुगेका थिए । यसपटक झापा १ बाटै सर्वसम्मत रुपमा सिफारिसमा परेर उम्मेदवार बन्न सफल भएका हुन् । अघिल्लोपटक जितेका ठाउँमा सोही दलले उम्मेदवारी दिने सत्तारुढ दलको सैद्धान्तिक सहमति अन्तिम समयसमम्म पनि कायम भए विश्वप्रकाशलाई यसपटक टिकट पाउन अन्य क्षेत्र जानुपर्ने दबाब थियो । तर उनलाई हराएका राम कार्कीले यसपटक टिकट नपाएपछि शर्मालाई सहज भयो । वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा वडाध्यक्षतर्फ एमालेले ३१२३२, कांग्रेसले २४०५९, राप्रपाले ५९२२, माओवादीले ३९०५, नेकपा एसले १२५२ प्राप्त गरेका थिए । एमालेभन्दा गठबन्धन वडाको मतको आधारमा ४ हजारले अगाडि देखिन्छ । यस्तोमा टिकट पाएका युवा नेता शर्मालाई जित्न गाह्रो देखिंदैन । तर धेरै दल मिल्दा पनि यो मत एमालेलाई सहजै हराउन पुग्ने मत होइन । राप्रपा एमालेसँग मिल्दा कठिन हुन सक्छ । एमालेले यसपटक झापा १ मा अग्नी खरेलललाई उम्मेदवार बनाएको छ । वडाध्यक्षले पाएको गठबन्धनको मत चार हजारमात्रै बढी भएकोले शर्मालाई पनि सहजै चुनाव जित्न गाह्रो छ ।
यता पौडेल पनि नेविसंघको अध्यक्ष भइसकेका छन् । उनी कांग्रेसको केन्द्रीय सदस्य पनि लगातार भइसकेका छन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा उठेका पौडेल पराजित भएका थिए । सिटौला पक्षका उनलाई पार्टी संस्थापन देउवा पक्षले आफ्नो टिममा ल्याएर महामन्त्रीको उम्मेदवार बनाएको थियो । तर पराजित हुन पुगे । २०७४ सालमा पौडेल तनहुँ २ क मा लड्दा ५ मतले पराजित भएका थिए । यसपटक उनी तनहुँ २ बाट उम्मेदवारी दिने तयारीमा थिए । तर पार्टीले उनलाई काठमाडौं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । पौडेल यसपटक उठेको क्षेत्रमा २०७४ सालमा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । पोखरेलले कांग्रेसकै डा. प्रकाशशरण महतलाई ९८६० मतान्तरले पराजित गर्न सफल भएका थिए । यसपटक उनै पोखरेल र पौडेल चुनावी मैदानमा छन् । यस अघि विवेकशील साझामा रहेकी रञ्जु दर्शनाले पनि यसपटक स्वतन्त्रबाट काठमाडौं ५ मा उम्मेदवारी दिएकी छिन् । यसैले यो क्षेत्रमा यसपटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं ५ का वडाध्यक्षभरमा एमालेले १९७०३, कांग्रेसले १४८५३, राप्रपाले २८२२, नेकपा एसले १८२७ र माओवादीले ११६८ मत प्राप्त गरेको थियो । जसमा गठबन्धन मत १८८४३ रहेको छ । तर एमाले एक्लैको मत १९७०३ छ । अर्थात् एमाले गठबन्धनका सबै दलभन्दा पनि ८६० मतान्तरले अगाडि देखिन्छ । यसैले काठमाडौं ५ बाट पहिलोपटक चुनाव लड्न लागेका पौडेललाई सहजै जित्न कठिन छ । कांग्रेसमा अहिलेसम्म कुनै लाभको पद नलिएका, लोकप्रिय, इमान्दार र युवा नेताको बलमा भने पौडेल यसपटक हावी हुन सक्छन् । संगठित बलियो मतको फाइदा पोखरेलले उठाउन सक्नेछन् । पटकपटक हारेपछि माओवादीका साथमा अघिल्लोपटक पोखरेलले कांग्रेसका महतलाई पराजित गरेका थिए । त्यस अघि २०७० मा यो क्षेत्रबाट कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।










प्रतिकृया दिनुहोस्