- १० आश्विन २०७९, सोमबार १२:५१
असाेज १०, काठमाडाैँ । आजबाट नवरात्री सुरु भएको छ। नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने बडादशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ। नवरात्र शुरु भएसँगै देशभरका देवी आलयहरूमा दर्शनार्थीको भीड देख्न सकिन्छ। काठमाडौँका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको भीड छ। यस अवसरमा भद्रकाली, शंकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। दुर्गाको प्रतिकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ। बडादशैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूर्जा गर्छन्। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ। दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमासमेत मनाउने गरिन्छ।










प्रतिकृया दिनुहोस्