- ११ श्रावण २०७९, बुधबार २०:२२
साउन ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत र्यापर यमबुद्धको सम्झनामा ‘यमबुद्ध पार्क’ निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९/८०को वाषिर्क बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले पार्क बनाउन एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ । महानगरपालिकाले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्न शहरभित्र पूर्वाधारसहितको पार्क बनाउने योजना बनाएको महनगरकाे पूर्वाधार विकास विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार ‘बी बोइङ’ ब्रेकडान्सिङ नृत्यको एउटा ऊर्जावान शैली हो । यो सामान्यतयाः हिप-हप संगीतमा प्रदर्शन गरिन्छ, कलात्मक फुटवर्क र एक्रोबेटिक वा एथलेटिक शैलीको यो नाच पछिल्लो समय लोकपि्रय छ । स्केटबोर्डिङ भने पांग्रा जोडिएको स्केटमा हिंड्ने फरक शैलीको खेल हो । बजेटमा नै महानगरपालिकाले यो रकम पार्क निर्माण, बास्केटबल कोर्ट, स्केट बोर्डिङ, बी बोइङसहितको पार्क बनाउने उल्लेख छ । बजेटमा अन्य संरचना पनि बनाउने भनिए पनि के-के हुने भन्ने थप खुलाइएको छैन । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६मा यस्तो पार्क बन्ने छ । यसअघि यमबुद्धको सलिक बनाउने घोषणा गरेपछि मेयर साह विवादमा तानिएका थिए । प्रस्तावित युमबुद्ध पार्कमा अब यमबुद्धको सालिक रहने/नहरने बजेटमा उल्लेख छैन । सलिकबारे विवाद भएपछि गत २५ असारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिवंगत र्याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने घोषणा गरेका थिए ।काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए । महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गर्नु परेको थियो ।










प्रतिकृया दिनुहोस्