- ६ जेष्ठ २०७९, शुक्रबार ०८:३७
काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा एक युवतीमाथि ६ महिना बलात्कार भएको छ ।
मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी एक प्रतियोगीले आफू बलात्कृत भएको बताएकी छिन् ।
मनोज पाण्डे एक कन्सल्टेन्सी सञ्चालक, जसले उनलाई बेहोस हुने औषधी दिएर बलात्कार गरेका थिए ।
बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको कुरा उनले टिकटकमार्फत सार्वजनिक गरेकी हुन् ।
ती युवतीका अनुसार उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ ।
मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको थियो । ती युवतीका अनुसार मिस ग्लोबल प्रतियोगितामा उनी पनि छानिएपछि उनलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाइएको थियो ।
उनी त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही पनि थिएनन् । केही चलचित्रहरुमा बाल कलाकारको भुमिका पनि खेलेकी उनले सञ्चालकलाई किन यहाँ अरु कोही छैन भनेर सोधकी थिइन् ।
त्यसको जवाफमा पाण्डेले तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच–छ बजेबाट पार्टी सुरू हुन्छ भनेर जवाफ फर्काएका रहेछन् । एकछिन बसेपछि उनलाई लेमोनेड खान दिइयो ।
लेमोनेड खाएको केही समयपछि उनलाई रिंगटा लागेजस्तो भयो । त्यसपछि उनले घर जान्छु भन्दै निस्किन खोज्दा पाण्डेले रोकेका थिए । उनले जान्छु भन्दा सञ्चालकले उनलाई धेरै हप्काएका पनि थिए ।
त्यो बेला उनलाई सञ्चालकले भनेको कुरा ठिकजस्तो लागेको थियो । एउटा कोठा लिएर राखेको छु, त्यहाँ गएर आराम गर भनेर ती पाण्डेले सल्लाह दिएका थिए ।
सो घटनाका सम्बन्धमा आफूसँग कुनै प्रमाण नभएको बताउने ती युवतीले त्यसबेला आफूलाई राम्ररी होस नभएको भनेकी छिन् । उनका अनुसार बीचबीचमा ब्युँझिँदा पाण्डे थरका ती व्यक्तिले उनलाई बलात्कार गरिरहेका थिए ।
जब ती युवतीलाई यसबारे थाहा भयो, तब सञ्चालक पाण्डेले धम्की दिदैँ यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडियो पनि छ, सार्वजनिक गरिदिन्छु भनेका रहेछन् ।
त्यति बेला उनको उमेर मात्रै १६ वर्षको थियो । कन्सल्टेन्सी सञ्चालकले सो भिडियो र फोटो लिक गर्ने धम्की दिएर छ महिनासम्म बलात्कार गरेका थिए ।
उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो कुरा भनेकी थिइन् । त्यसबेला ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले स्मरण गरेकी छिन् ।
त्यसपछि उनका साथीले ती सञ्चालकलाई कुटपिट गरे र फोटो र भिडियो हटाउन लगाए । उक्त घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि सोही प्रकृतिको घटनाको सामना गर्नु परेपछि आफूले मोडल बन्ने सपना त्यागेको उनले उल्लेख गरेकी छिन् ।
लामो समयदेखि डिप्रेशनको सिकार भएकी उनले औषधि पनि लिइरहेकी थिइन् । तर केही गर्दा पनि निको हुने संकेत नदेखिएपछि डाक्टरहरुले नै उनलाई आफ्नो मनमा भएको सबै कुरा पोख्न भनेर सुझाव दिएका रहेछन् ।
चिकित्सकको सल्लाह अनुसार नै उनले घटना भएको यतिका वर्षपछि यसबारे खुलेर बोलेकी हुन् । यो घटनाबारे थाहा भएर पनि धेरैले उनलाई सहयोग गरेनन् ।
आफूमाथि भएको बलात्कारबारे बताउँदा पूर्व मिस नेपाल माल्भिका सुब्बाले ‘तिम्रो समस्या हो’ भन्दै बेवास्ता गरेकी थिइन् । यो आरोप सुब्बा आफैंले पनि स्विकार गरेकी छिन् ।
उनले त्यसबेला यसको कानुनी प्रक्रियाबारे आफू जानकार नभएको तर आफूले ती युवतीलाई सहयोग नगरको भन्दै माफी पनि मागेकी छिन् ।
सुन्दरी प्रतियोगिता जिताउने नाममा किशोरीलाई ६ महिनासम्म बेहोस गराएर बलात्कार (janaboli.com)










प्रतिकृया दिनुहोस्