- १ जेष्ठ २०७९, आईतवार २०:४९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ६ घण्टाको व्यस्त कार्यतालिकासहित सोमबार विहान लुम्बिनी आउँदैछन्। भारतबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक लुम्बिनी भ्रमण हुन लागेको हो। बुद्ध जयन्तिको पावन दिनमा मोदीको भ्रमणले नेपालको पर्यटन प्रवर्धन र गौतम बुद्धको जन्मस्थानका बारेमा विश्वमा उत्पन्न भ्रम निवारण गर्ने छ। यो भ्रमण भारतको सुरक्षा चासो सम्बोधनका लागि परिस्थिति निर्माण गर्ने महत्वपूर्ण अबसर हुनेछ। मोदीले आठ वर्षअघि सार्कको १८ औं शिखर सम्मेलनका बेला काठमाडौंमा लुम्बिनी भ्रमण गर्ने उद्घोष गरेअनुसार यसपटक भ्रमणको अनुकुलता मिलेको हो। मोदीको लुम्बिनी भ्रमणका लागि दुई देशका कूटनीतिक अधिकारीबीच करिब ६ महिनादेखि कुराकानी हुँदै आएको थियो। विशेषतः भारतीय नवनियुक्त विदेश सचिव विनयमोहन क्वात्राले काठमाडौंमा राजदूत छँदा गरेको प्रयासको प्रतिफलका रुपमा भारतीय अधिकारीहरुले यो भ्रमणलाई लिएका छन्। प्रधानमन्त्री मोदीले यसअघि काठमाडौंस्थित पशुपतिनाथ, जनकपुरधामस्थित जानकी र मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन गरिसकेका छन्। नागरिक र धर्मावलम्बीका रुपमा मोदीले लुम्बिनी भ्रमण पहिल्यै गरिसकेका छन्, तर प्रधानमन्त्रीको ओहोदामा उनको पहिलो भ्रमण हो। मोदी भन्दा अघि कुनै पनि भारतीय प्रधानमन्त्रीले लुम्बिनी टेकेका थिएनन्। मोदीको लुम्बिनी भ्रमणका विषयमा नेपाल र भारत दुबैतिर चासो र चर्चा छ। लुम्बिनी भ्रमणलाई लिएर भारतमा विपक्षीहरुको पनि विमति प्रकट भएको छैन। भारतीय राजनीतिज्ञ एवं नेपाल भारत सम्बन्धका जानकार सुधीन्द्र भदोरियाको बुझाईमा बुद्ध शान्तिप्रेमीहरुका साझा व्यक्तित्व भएकोले र बौद्धधर्म तुलनात्मकरुपमा शान्तिवादी भएका कारण बुद्धको जन्मस्थल लुम्बिनीप्रति सबैको सम्मान छ। मोदीको यही समयमा लुम्बिनी भ्रमण हुनुको अर्थबारे केही दिनअघि पत्रकारहरुले सोधेको प्रश्नमा विदेश सचिव क्वात्राले ३० वैशाखमा दिएको जवाफ थियो, ‘यसबारे धेरै सोचिरहनु पर्दैन, दुई देशबीच साझा सभ्यताको प्रतिक लुम्बिनी भएकोले प्रधानमन्त्रीको भ्रमण हुन लागेको हो। भ्रमणको अरु कुनै पनि अर्थ लगाउनु आवश्यक छैन।’ मोदीको भ्रमण नेपाल र भारत दुबैका लागि अर्थपूर्ण छ। नेपालका लागि मोदीको भ्रमण गौतम बुद्धको जन्मस्थलबारे विश्वमा उत्पन्न भ्रम निवारण र बौद्धमार्गी पर्यटकहरुको संख्या वृद्धि गर्ने हिसाबले महत्वपूर्ण छ। गौतम बुद्धले हाल भारतीय भूमिमा रहेका बोधगयामा बुद्धत्व (ज्ञान) प्राप्त गरेकाले भारतले आफूलाई बुद्धभूमि भन्दै आएको छ। नेपालले भने सिद्धार्थ गौतमका रुपमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हुनाले बुद्धलाई आफ्नो भन्दै आएको छ। गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्माणको भूगोल अहिलेको नेपाल र भारत दुबैमा छन्। भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी रहेको भन्दै आएका छन्। उनले नेपालमा र बाहिर पनि पटकपटक बुद्धको जन्मस्थानबारे दुविधा उत्पन्न गरेका छैनन्। सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेको भूमि भारतमा रहेका कारण बुद्धप्रति भारतको अपनत्व भएको हो। जसरी पहिलोपटक सगरमाथाको आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पालाई नेपाल र भारत दुबैले आफ्नो मानिरहेका छन्। बुद्धको साझा विरासत रहेका कारण दुबैले अपनत्व लिनु अन्यथा होइन। तर, यसको साझा विकास र प्रवर्धनले दुबैलाई सांस्कृतिक र आर्थिक फाइदा हुनेछ। मोदी भारतीय प्रधानमन्त्री मात्र नभएर अहिले विश्वले हेर्ने र सुन्ने नेता भएकोले उनले लुम्बिनीबाट दिने सन्देश नेपालका लागि महत्वपूर्ण हुनेछ। मोदीको यही भ्रमणले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको सन्देश एकैसाथ प्रवाह हुनेछ। यो नेपालका लागि महत्वपूर्ण अवसर हो। दोस्रो, भारतका बौद्ध सम्पदा र नेपालका बौद्ध सम्पदाबीचको सम्बन्धको महत्व यो भ्रमणले थप उजागर गरिदिनेछ। कुनै समय मोदीले नेपालबिना भारतमा राम र चारधाम अधुरो हुने बताएका थिए। अब लुम्बिनी बिना बौद्ध धर्म अभाव हुने सन्देश उनले दिनेछन्। भारतमा आउने बौद्धमार्गी पर्यटक वा तीर्थयात्री नेपालमा आउने वातावरण बन्ने सम्भावना थप बढेर जानेछ। भारतका लागि लुम्बिनी भ्रमण भूराजनीतिक रुपमा महत्वपूर्ण हुनेछ। मोदीको भ्रमणसँगै विशेष गरि यो क्षेत्रमा भारतको भूमिका र प्रभाव बढ्ने छ। लुम्बिनी वास्तवमा सांस्कृतिकरुपमा मात्र जोडिएको छैन, भारतको सबैभन्दा संवेदनशील र ठूलो राज्य उत्तरप्रदेशसँग सुरक्षाका हिसाबले पनि जोडिएको छ।लुम्बिनीमा नेपालको छिमेकी चीन मात्र नभएर अमेरिका, युरोपदेखि अन्य बौद्धमार्गी शक्तिशाली मुलुकहरु पनि जोडिएका छन्। बिगत १२ वर्षअघि एपेक नामको विवादास्पद चिनियाँ परियोजनाले लुम्बिनीलाई गिजोलेको थियो। करिब ३ अर्ब अमेरिकी डलर खर्च गर्ने भन्दै आएका चिनियाँहरुले त्यसबेला प्रचण्डसहितका नेतालाई प्रभावमा पारेर लुम्बिनीको कायापलट हुन्छ भन्ने सपना देखाएका थिए। चिनियाँ संस्था नै त्यति धेरै लगानी गर्ने हैसियतको नभएको धेरै पछि थाहा भयो। त्यतिन्जेल फैलिएको भूराजनीतिक त्रासदीका कारण नीति निर्माणकर्ताहरु अलमलिँदा लुम्बिनीको विकासमा अबरोध भएको थियो। कम्तिमा अब त्यो अवस्था छैन। लुम्बिनीको विकासमा नेपाल र भारतबीच सहकार्यका लागि अहिले रहेको चुनौतिरहित अवस्थाको उपयोगका लागि मोदीको भ्रमण अबसर बन्न सक्छ। लुम्बिनीसँग सांस्कृतिक सहकार्यले भारतको सुरक्षा हित स्वभाविकरुपमा सम्बोधन हुनेछ। मोदी भ्रमणको यसकारण पनि भूराजनीतिक र भूरणनीतिक महत्व छ। लुम्बिनीमा अन्य बौद्धमार्गी मुलुकहरुझैँ छिमेकी भारत प्राकृतिक साझेदार हो। लुम्बिनीमा नेपाल भारत साझेदारी दुवै मुलुकको हितमा छ। लुम्बिनीको विकास नेपालकै अग्रसरतामा हुन्छ र यसको लाभकारी नेपाल नै हुने हो। भारतीय प्रधानमन्त्रीले भारतस्थित बौद्ध सम्पदाको प्रवर्धन र सम्वर्धनमा चासो दिनु, त्यहाँको हित हेर्नु अन्यथा होइन। लुम्बिनीको प्रवर्धन गर्ने दायित्व नेपाल सरकारको हो। नेपालले आफ्नो आर्थिक हित थप सुरक्षित गर्ने अवसर मोदीको भ्रमणले दिलाइदिएको छ। (नयाँ पत्रिकाबाट सभार )










प्रतिकृया दिनुहोस्