- ८ बैशाख २०७९, बिहीबार १७:५१
वैशाख ८, भरतपुर । भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रर्बधन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आउनुभएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।
अहिले सडक बत्तीका लागि खम्बा गाड्न फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । एक हजार १९० वटा फाउण्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म अधिकांश निर्माणको काम सम्पन्न भएको र ५०० खम्बा गाढीसकेको उनको भनाइ छ ।
मङ्गलपुर बजार क्षेत्र र बाइपास रोड क्षेत्रमा काम बाँकी रहेको उनले बताए । बाटो र घरका कारण समस्या आएको भए पनि केही समयमा समस्या समाधान गरी निर्माण र जडानको काम सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, “यी सबै काम सकेर बत्ती जडानको काम सक्दै गर्दा वैशाखको अन्तिम वा जेठको दोस्रो साता लाग्छ ।” यही वैशाख १ गते भरतपुर महानगरपालिकाको चौबिसकोठीमा स्मार्ट सडक बत्ती बालेर सुभारम्भ गरिएको छ ।
यस अभियानअन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिनेछ । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको साझेदारीमा बत्ती जडान गरिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० मा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभीले काम गरिरहेका छन् ।
हाकिम चोक–गीतानगर–जगतपुर सडकखण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा ५६९, मङ्गलपुरदेखि शुक्रनगरसम्मको २२ दशमलव १३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलव ४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडकबत्ती जडान हुनेछ । दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलव ८६ किलोमिटर सडकखण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलव १७ किलोमिटर सडकखण्डमा ५० बत्ती र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलव २६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।










प्रतिकृया दिनुहोस्