- ११ चैत्र २०७८, शुक्रबार २३:१२
चैत्र ११, नुवाकोट । सरकारले घोषणा गरेको आगामी स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै देशभर निर्वाचनको सरगर्मी बढेको छ । हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले गाउँगाउँमा आफ्नो तयारीलाई तीव्र बनाएका छन् ।
नुवाकोट आफैँमा राजनीतिको लागि एक उर्वर भूमी हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नुवाकोटको विभिन्न पालिका र वडास्तरीय प्रचारप्रसार भइरहेको छ । सो क्रममा जिल्लाको बेलकोटगढी नगरपालिकामा पनि चुनावको तयारी तीव्र बनेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा नगरपालिकाको धेरै वडाहरुमा एमालेले जीत हासिल गरेको र आगामी स्थानीय निर्वाचन समेत पुनः आफ्नो जीत जोगाउने चुनौतीमा रहेको छ नेकपा एमाले । यसअघि पनि एमालेले जितेको वडा नं ८ मा एमालेबाट वडाध्यक्षमा दाबी गर्नेहरुको नाम बाहिर आउन थालेको छ । त्यो मध्ये एक नाम हो विष्णुप्रसाद पुडासैनी । नेकपा एमाले बेलकोटगढी नगरपालिका वडा नं ८ को सचिवालय सदस्य समेत रहेका पुडासैनी आगामी स्थानीय निर्वाचनमा वडाध्यक्षको दाबेदारी गरेका छन् । लामो समयमा स्थानीय राजनीतिमा सक्रिय रहेका पुडासैनी पार्टीभित्र तछाडमडाडको अवस्था आएमा आफू पनि वडामा दाबी गर्ने पक्षमा रहेको बताउँछन् । पार्टीभित्रको आन्तरिक कलह बढ्दै जाने र पहुँच हुनेले मात्र हालीमुहाली गर्ने हो भने आफूहरुजस्ता कार्यकर्ताहरु सधैँ मारमा पर्ने भन्दै जनताका गुनासा सुन्नका लागि आफूहरु वडामा दाबी गर्न आउने बताउँछन् । लामो समय वैदेशिक रोजगारीमा रहेर फर्किएका पुडासैनी देशमा रोजगारी सिर्जना नभइ विकराल अवस्था आएकाले स्थानीय सरकारले हरेक जनतालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिन्छन् । वडामा आफू हरेक मानिसहरुसँग घुलमिल गर्ने गरेको र सौहार्द सम्बन्ध रहेको बताउँदै पार्टीका हरेक काममा सक्रिय रहेका पुडासैनी निर्वाचनको लागि प्रचारप्रसारमा खटिएका छन् । त्यसैगरी वडा नं ८ बाट पुडासैनीसहित अन्यको नाम समेत आकांक्षीको रुपमा अघि आएको छ । जसमा वर्तमान अध्यक्ष भोजप्रसाद पुडासैनी, जिल्ला कमिटी सदस्य मिनकुमार खतिवडा, एमाले वडा कमिटी अध्यक्ष सुरेशलाल चित्रकार, नगर कमिटी सदस्य अच्युत पुडासैनी लगायत आकांक्षीको रुपमा अघि देखिएका छन् ।










प्रतिकृया दिनुहोस्