- २५ फाल्गुन २०७८, बुधबार ०७:१८
फागुन २५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलले ‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने’ समेत बताए। उनले निर्वाचन आयोगले मतपत्रका चिन्हहरूमा हरियो चिन्ह राख्नुको कारण बताउनुपर्ने भन्दै यदि यो कुरा सत्य भए निर्वाचन आयोगले त्रूटी सच्याउन आवश्यक रहेको बताए । अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ। निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे, हरियो चिन्ह किन राख्ने? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्यो। हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन। म अत्यन्त व्यस्त भइरहेको छु। उहाँहरूसँग सोधौँला, बुझौँला। यदि हो भने, कुन हिसाबले राख्ने? यो धार्मिक हिसाबले राख्ने हो? के हिसाबले हरियो चिन्ह राख्ने? अथवा कसैको हरियो देखिने चिन्ह छ त्यसकारण राख्ने? केका लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने हो? किन हरियो राख्ने? यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रूटी सच्याउनुपर्छ। हरियो-सरियो हुँदैन।’ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उनले यस्तो बताएका थिए। यस क्रममा अध्यक्ष ओलीले बूढेसकालमा छोरीले नै बा-आमालाई सहारा दिने भन्दै छोरीलाई अभिभावकले स्वतन्त्र चेतनाका साथ बाच्न, उचित शिक्षा दिनेतर्फ सोच्नुपर्ने बताए।










प्रतिकृया दिनुहोस्