- १५ श्रावण २०८२, बुधबार १७:१९
हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुरसिं लामालाई हराउँदै बानियाँ नेता निर्वाचित भएका हुन् । बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए ।
प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर–२ (ख) बाट प्रदेशसभा सदस्य रहेका बानियाँ २०७४ को निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । कम्युनिस्टको ‘लाल किल्ला’ भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका बानियाँ त्यतिबेला भने पराजित भए । मकवानपुरको तत्कालीन हर्नामाडी गाविस ४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । २०५१ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिका चुनिएका बानियाँ २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दल जिल्ला सचिव भए । २०५६ सालमा तरुण दल मकवानपुरको अध्यक्ष र २०५८ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य चयन भएका थिए ।
बानियाँ २०७३ चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भए । उनी २०७४ सालमा संस्कृति,पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत भएका थिए । बानियाँ २०७८ मंसिरमा भएको अधिवेशनमा नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा निर्वाचित भएका थिए ।
गत साउन ९ गते संसदीय दलको नेतामा बानियाँलाई समर्थन गर्दै लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसकै प्रक्रिया स्वरूप मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो । विपक्षमा २२ मत परेसँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि आज नयाँ नेता चयनको लागि निर्वाचन भएको हो ।
यसअघि २०७९ पुसमा भएको दल नेताको निर्वाचनमा बानियाँलाई हराउँदै लामा विजयी भएका थिए । लामाले २१ मत र बानियाँले १६ मत प्राप्त गरेका थिए । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति बानियाँ दल नेता निर्वाचित भएपछि मुख्यमन्त्री लामालाई नैतिक संकट परेको छ ।










प्रतिकृया दिनुहोस्