- १५ जेष्ठ २०८२, बुधबार २०:२६
तनहुँ । व्यास नगरपालिका–१, भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक, भौतिक पूर्वाधार तथा छात्रवृत्तिको व्यवस्थाका लागि सहयोग माग गर्दै तनहुँ जिल्लाका दुई पालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ।
स्ववियु सभापति अनुप आलेको नेतृत्वमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पडिन्तलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाइएको हो।
सभापति आलेका अनुसार क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीहरू ग्रामीण तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका छन्। शैक्षिक सामग्रीको अभाव, अतिरिक्त कक्षाहरूको कमी र भौतिक पूर्वाधारको न्यूनताका कारण विद्यार्थीहरूको पठनपाठनमा प्रतिकूल असर परिरहेको उल्लेख गर्दै, आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।
ज्ञापनपत्रमा पुस्तकालय, शुद्ध खानेपानी, अध्ययन कक्ष, शौचालय, खेलकुद सामग्री जस्ता आधारभूत पूर्वाधारहरू अभाव भएको जनाइएको छ। साथै, छात्रवृत्तिको व्यवस्था भएमा आर्थिक रूपले कमजोर विद्यार्थीहरूको अध्ययनमा प्रेरणा बढ्ने र उपस्थितिदर तथा शैक्षिक नतिजामा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
स्ववियुले आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा पछाडि पारिएका वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउन, क्याम्पसको भौतिक संरचना निर्माण तथा मर्मतको लागि बजेट व्यवस्थापन गर्न र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।
स्ववियु सचिवालयका अनुसार यस्तो ज्ञापनपत्र तनहुँ जिल्लाका दशै वटा पालिकामा बुझाइनेछ। स्ववियुले स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यार्थीको समग्र हितमा काम गर्ने प्रतिवद्धता समेत जनाएको छ।










प्रतिकृया दिनुहोस्