- १० जेष्ठ २०८२, शुक्रबार १६:३२
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको चामुण्डा माध्यमिक विद्यालयले आफ्ना विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई ल्यापटप वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको संयोजन पूर्व गाविस अध्यक्ष गोपाल बरालले गर्नुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसाल कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रिसालले गोकर्णेश्वर नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि वैज्ञानिक प्रविधि अनुकूल सिकाइलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। उहाँले विद्यालयहरूमा प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्दै विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउनेतर्फ नगरपालिकाले विशेष ध्यान दिएको जानकारी दिनुभयो। साथै, शिक्षकहरूले प्रविधिको प्रयोगमार्फत सिकाइलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालयको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी, पूर्व अध्यक्ष बरालले शिक्षकहरूलाई बधाई दिँदै प्रविधिको प्रयोगले शिक्षण प्रक्रिया सहज र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका सबै शिक्षकहरूलाई ल्यापटप प्राप्त भएपछि शिक्षण–सिकाइमा सजिलो र प्रभावकारिता बढ्ने आशा गरिएको छ । नवप्रविधिको प्रयोगसँगै अब विद्यालय शिक्षा प्रणाली अझ सुदृढ हुने र विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पर्ने अभिभावक तथा स्थानीयवासीहरूले अपेक्षा गरेका छन् । कार्यक्रम भव्य रूपमा विद्यालय परिसरमै सम्पन्न भएको थियो ।










प्रतिकृया दिनुहोस्