- ६ कार्तिक २०८१, मंगलवार १७:५५
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय निर्णय अनुसार अघिल्लो वर्ष कक्षा चार सम्मको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको निजी प्रकाशनले यस वर्ष तीन कक्षाको मात्रै पुस्तक छपाई गर्न पाउने भएको छ।
शैक्षिकशसत्रको सुरुमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेपछि सरकारले निजी प्रकाशनलाई छपाईको जिम्मेवारी दिँदै आएको थियो। गत वर्ष जनक शिक्षा सामाग्री केन्द्रले कक्षा तीनको पुस्तक छपाई थालेको थियो। उक्त पुस्तक बिक्री हुन सकेको थिएन। यस वर्ष त्यही पुस्तक ‘स्टक’ देखाएर केन्द्रले मन्त्रालयसँग तीन कक्षाको पनि पुस्तक छपाई आफै गर्ने प्रस्ताव गरेको हो।
निजी प्रकाशनलाई एक, दुई र चार कक्षाको जिम्मेवारी दिएको भए पनि जनक शिक्षाले एक देखि १२ कक्षासम्म नै छपाई गर्न भने पाउँछ। निजी प्रकाशनले भने सरकारले ताकेका कक्षाको मात्रै छपाई गरेर बिक्री वितरण गर्नु पर्ने हुन्छ। कक्षा पाँचसम्म पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको निजी प्रकाशनहरूको दायरा हरेक वर्ष खुम्च्याउँदै लगिएको छ भने जनक शिक्षा सामाग्री केन्द्रको बढाउँदै लगिएको छ।
मन्त्रालयले आउँदो शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पुर्याउन छपाई कसले गर्ने भन्ने बेलैमा निर्णय गरेको हो। अघिल्लो वर्ष पुसमा मात्रै निजी र जनकले कुन कक्षाको पाठ्यपुस्तक छपाई गर्ने भन्ने निर्णय भएको थियो। यस वर्ष भने दसैँअघि नै निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए।
‘बेलैमा निर्णय भए पछि कसले कति छाप्ने हो भने ढुक्क भएर काम गर्न पाउँछन्,’उनले भने,‘निजी प्रकाशनको पनि क-कसले छपाई गर्ने भन्ने हो दर्खास्तको लागि सूचना जारी भइसकेको छ। निजी प्रेस पनि चाडै टुङ्ग्याउँछौ।’










प्रतिकृया दिनुहोस्