- २ आश्विन २०८१, बुधबार ०७:४८
काठमाडौं, २ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहदेखि उच्च शिक्षासम्म गुणस्तरीय शिक्षक, विद्यालय, शैक्षिक सामग्री र वातावरणको व्यवस्था गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार बीच समन्वय, साझेदारी र सहकार्य आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा शभकामना सन्दैश दिँदै गुणस्तरीय शिक्षाले देशमा ज्ञान, सीप, दक्षता सहितका सिर्जनशील एवं ऊर्जावान् नागरिक तयार गर्न तीनै तहको समन्वय आवश्यक रहेको बताएकी हुन् ।
त्यसैगरी विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकाका लागि शिक्षामा पहुँच, विद्यालयमा प्रवेश गरेका सम्पूर्ण विद्यार्थीको सक्षमता विकास गरी विद्यालयमा टिकाउने, स्तरोन्नति गराउने र रोजगार एवं स्वरोजगार मार्फत आत्मनिर्भर बन्न सक्ने नागरिक तयार गर्न सबैको सामूहिक जिम्मेवारी र भूमिका रहेको उल्लेख गरेकी छन् ।
‘नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्वीकार गरी आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ लाई कार्यान्वयन गर्न कार्यान्वयन ढाँचा समेत तयार गरेको छ । यस सन्दर्भमा शिक्षालाई गरिखाने बनाउने एवं अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सक्ने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य र दायित्व रहेको छ’ उनले भनेकी छन् ।










प्रतिकृया दिनुहोस्