- १८ असार २०८१, मंगलवार १५:४१
काठमाडौं– नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दीर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौं आइपुगेका छन् । चौथो चरणको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप रावत र सुनील वर्मा काठमाडौं आएका हुन् ।
निर्माण पक्षले सोमबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी अन्तिम चरणको छायांकनका लागि उनीहरु काठमाडौं आएको जानकारी दिएको हो । सुनील दक्षिण भारतीय फिल्म ‘पुष्पा’का मुख्य मध्येका एक खलपात्र हुन् । त्यस्तै, प्रदीप बलिउड फिल्म ‘गजनी’का खलपात्र हुन् ।
सुनील वर्माले नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘हस्व दीर्घले नेपाली फिल्मलाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गरेको छ । यो दशैंमा हामीले तपाईंहरुलाई कोसेली फिल्म लिएर आएका छौं ।’
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसै फिल्मबाट पन्तले निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
फिल्ममा नीता, प्रदीप, सुनीलसहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईंटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्मको कथा अभिनेता हरिहर अधिकारीको हो । पटकथा तथा संवाद भने हरिहर, प्रतीक पौडेल र निर्देशक पन्त मिलेर लेखेका हुन् ।
नेपाली, तेलुगु र हिन्दी भाषामा फिल्म निर्माण हुने बताइएको छ । नेपालका लागि प्रदर्शन मिति आगामी असोज ३ गतेलाई तोकिएको छ ।










प्रतिकृया दिनुहोस्