- ९ बैशाख २०८१, आईतवार १६:३१
काठमाडौँ , ९ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनबाट कारबाही सिफारिस भई हाल विभिन्न विश्वविद्यालय र अन्य निकायहरूमा कार्यरत व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ । प्रतिवेदनमा कारबाही सिफारिस गरिएका कतिपय व्यक्तिहरू अहिले पनि विभिन्न विश्वविद्यालय र सार्वजनिक निकायमा कार्यरत रहेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयलाई प्रतिवेदनले कारबाही सिफारिस गरेका कोही व्यक्तिहरू ती संस्थाहरूमा कार्यरत भएमा कारबाही अघि बढाउन पत्राचार गरेको जनाएको छ । उक्त प्रतिवेदनमा समावेश भएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन सबै विश्वविद्यालयहरूलाई जानकारी गराइदिन विश्वविद्यालय अनुदान आयोगलाई समेत मन्त्रालयले छुट्टै पत्र पठाएको जनाइएको छ ।
कारबाही सिफारिस भएका व्यक्ति माथि आवश्यक छानबिन गर्न मन्त्रालयले यसअघि नै प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सिफारिस र सुझावहरू कडाइका साथ कार्यान्वयन गर्न र कानुन बमोजिम कारबाही गर्न मातहतका निकायहरूलाई निर्देशन दिएकी छन् ।
नेपाल सरकारले २०७४ साल वैशाख ४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’ गठन गरेको थियो । उक्त आयोगले २०७४ साल माघ ११ गते ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, २०७४’ तत्कालीन प्रधानमन्त्री समक्ष पेस गरेपनि सार्वजनिक भएको थिएन ।
उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवश्यक कार्यार्थ प्राप्त भएको ६ वर्ष पछि गत चैत्र २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक भएपछि त्यहाँ समावेश भएका विषयका सम्बन्धमा कारबाही अघि बढाउन सकिने भनेर २०७५ चैत्र ५ गतेको कानुन मन्त्रालयको रायसमेतका आधारमा शिक्षा मन्त्रालयले कारबाही अघि बढाएको जनाएको छ ।










प्रतिकृया दिनुहोस्