- १ कार्तिक २०८०, बुधबार १७:१५
कार्तिक १, काठमाडौं । चैतन्य कृष्ण, अमरकोश र मेदिनीकोशका अनुसार बलि शब्दले उपहार समर्पण, पूजा, नैवेद्यजस्ता अर्थहरू जनाउँछ । बल दाने धातुमा इन् प्रत्यय गरेर बलि शब्द बन्दछ । बलि शब्दमा दान शब्द मिलेर बन्ने बलिदान शब्दले बलिको जस्तो सर्वात्म समर्पण, ठुलो त्याग या महत्सेवा भन्ने अर्थ पनि जनाउँछ ।
बलिवैश्वदेव कर्ममा काकबलि, श्वानबलि गर्दा कागलाई र कुकुरलाई अन्नादिको बलि उपहार दिइन्छ । उनीहरूको हत्या गरिम्हदैन; त्यसैले बलि भनेको उपहार हो हत्या होइन ।
धर्म र पशु हत्या
जीव, जगत् र जगदीश्वरलाई निष्काम प्रेम र प्राणीमात्रको विशुद्ध सेवा, हित, मंगल, भलो र उपकार गर्नु नै सच्चा धर्म हो । सज्जनहरुले रन्तिदेवले झैं आफूले भोकै बसेर पनि अथवा ऋषि दधीचिले झैं आफू मरेर पनि अरुको प्राण रक्षा गर्दछन् भने दुर्जनले आफ्नो सुख, स्वाद, तृप्ति र सन्तोषका लागि अरुलाई दुःख दिने र मार्ने गर्दछन् । आफ्नै शरणमा बसेका निरीह, निरपराध र अबोध पशुको हत्या त झन् घोरातिघोर अत्याचार र पाप हो । स्वादलोलुपता, स्वार्थपरता र मोहभावले अन्धो भएको व्यक्तिले अरुको चित्कार, करुणक्रन्दन र आर्तनाद कसरी सुन्न सक्छ र ? दया नै धर्मको मूल हो भने पशुहत्या निर्दयता र क्रूरताको पराकाष्ठा हो । त्यसैले दयावान् या धार्मिक व्यक्तिले पशुपक्षी र वनस्पति जगत् सबैलाई दया र प्रेम गर्दछ; तिनको रक्षाका निम्ति अहर्निश प्रयत्न गर्दछ भने धर्महीन व्यक्तिले अरुको हत्या र मांसभक्षण गर्दछ । अरुको हत्या गर्ने र मांसभक्षण गर्ने मनुष्य कुनै पनि दृष्टिले धार्मिक हुन सक्दैन। ऊ प्रकृति र परमेश्वरका दृष्टिमा दण्डनीय अपराधी मानिन्छ ।
देवीपूजामा पशुहत्या
जहाँ नारीको पूजा हुन्छ; त्यहाँ देवताहरू खुसी हुन्छन् भनेर उद्घोष गर्ने वैदिक सनातन हिन्दु धर्ममा मात्रै नारीको ईश्वरको रूपमा पूजा हुन्छ । अन्य धर्ममा पुरुषको मात्रै पूजा गरिन्छ । सबै धर्मशास्त्र देवीदुर्गालाई या देवी सर्वभूतेषु मातृरूपेण, दयारूपेण संस्थिता भनी प्रतिपादन गरिएको छ । त्यसैले माता दुर्गा सम्पूर्ण प्राणीहरूकी वात्सल्यमयी, दयामयी आमा हुनुहुन्छ । के कुनै आमालाई उनकै सन्ततिको हत्या गरी रगत र मासु चढाएर खुसी बनाउन सकिएला ? के देवीदेवताले रगत र मासु खान्छन् ? वाल्मीकि रामायणका अनुसार राक्षसाः पिशिताशनाः अर्थात् पिशित (मासु) अशन (खाने)हरू राक्षस् हुन् तर देवताहरूको भोजन घ्यू हो । “देवा: आज्यपाः”- यजुर्वेद । शतपथब्राह्मणका अनुसार “चरुर्वै देवानामन्नं” अर्थात् चरु पनि देवताको आहार हो । तर कुनै पनि वैदिक ग्रन्थमा कतै पनि देवीदेवताले मासु खान्छन् भनेर भनिएको पाइँदैन । पद्मोत्तरखण्डको १०४र १०५ औं अध्यायमा स्वयं दुर्गादेवीले भगवान् शिवसँग भन्नुहुन्छ-
“यूपे वध्वा पशून् हत्वा…………….आत्मादीन् घातयेत् स तु”।।
अर्थात् हे भगवान् शिव यूप (मौलो)मा बाँधेर क्रूरतापूर्वक पशुको हत्या गरी बन्धुहरूको साथमा मासु खाने व्यक्ति मारिएको पशुको शरीरमा भएका रौं छन्; त्यति वर्षसम्म असिपत्रवन नामक नर्कमा पर्ने छ । हे भोलेनाथ ! जसले मेरो र हजुरको नाम बेचेर आफ्नो श्रीमतीको छोराछोरीको या कुलको नाममा पशुबलिको भाकल गरेर पशुहत्या गर्ला; ऊ आकाशमा चन्द्रसूर्य रहेसम्म नर्कमै बसिरहोस् । जसलाई हामी रगत र मासुद्वारा अज्ञानले पूजा गर्छौँ; उनै माता दुर्गाले भनेको कुरा हामीलाई थाहा छ त ?
यज्ञमा पशुहत्या कसरी सुरू भयो ?
महाभारत शान्तिपर्व (२६५/९)मा भनिएको छ–
सुरा मत्स्या मधु मांसमासवं कृसरौदनम् ।
धूर्तै: प्रवर्तितं ह्येतन्नैतद्वेदेषु कल्पितम् ।।
अर्थात् मदिरा, माछा र मासुजस्ता वस्तुहरूको यज्ञमा प्रयोग धूर्तहरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन्; वेदहरूमा यसको विधान छैन । महाभारतको यस तथ्यबाट स्पष्ट रूपमा बुझिन्छ कि- “वर्तमानमा वेद, पुराण, स्मृतिभन्दै पशुबलिको पक्षमा भनिने श्लोकहरू धूर्तहरूले पछि वेदादि ग्रन्थहरूमा मिलाइदिएका हुन् । मध्यकालमा जिह्वालोलुपहरूले आफ्नो जिब्रो र पेटको पूजाका लागि आफ्नो पापमय कार्यलाई धार्मिक खोल ओढाएर आफू निन्दाबाट बँच्नका लागि चातुर्यले स्वरचित, कपोलकल्पित श्लोकहरूलाई प्रेस आदि नभएको समयमा वेदादि ग्रन्थहरूमा मिलाएर त्यसैलाई शास्त्रप्रमाण भन्दै यज्ञमा पशु बलि सुरु गरेका हुन् ।
देवान् पितृन् समभ्यर्च्य, यज्ञशिष्टं मांसं भक्षणीयम्, प्राणात्यये क्रतौ श्राद्वे
अर्थात् देवता पितृलाई चढाएको मासु, यज्ञशेष मासु र प्राणसंकटको बेला खाइएको मासुले दोष लाग्दैन भन्नेजस्ता वचनहरू शास्त्रमा पछि मिलाइएका हुन् । आफूलाई भने सानो चोट लाग्दा पनि चिन्तित हुँदै अनेकौं डक्टर वैद्यहरूकहाँ दौडिने तर बोल्न नसक्ने अबोध निरपराध पशुहरूलाई भने मारेर सेवन गर्ने के यही मानवता हो ? एकाइसौं शताब्दीको क्वान्टम फिजिक्सको युगमा यति धेरै रुढिवादिता के उचित होला ? बुद्धि भएको मनुष्यले एक पटक सोच्ने समय आएको छ ।
पशु को हो ?
पासोमा बाँधिएकोलाई पशु भनिन्छ । मानिस पनि काम, क्रोध, लोभ, मोह र अहंकारको पासोमा बाँधिएको छ । यिनै पाँच विकारहरूको त्याग गर्नु नै वास्तविक बलिदान हो । तन्त्र ग्रन्थमा भनिएको छ-
“कामक्रोधौ पशुतुल्यौ विघ्नकृतौ बलिं दत्वा जपं चरेत्”
अर्थात् मनुष्यलाई विघ्नबाधा दिने काम, क्रोध नै पशु हुन् । यिनको बलि दिएर ईश्वरको उपासना गर । यिनै पाँच विकाररूप पशुको बलि नै वास्तविक पंचबलि हो । बलिको नाममा बोका, राँगा, हाँस, कुखुरा र भेडाको हत्या गर्नु क्रूर अत्याचार हो ।
विज्ञान, पशु हत्या र पर्यावरण
पृथिवीमा बढिरहेको तातोको कारण आज पृथिवी नै संकटमा छ । यसको मूल कारण कार्वन, नाइट्रसअक्साईड, मिथेनजस्ता ग्याँसहरू हुन् र यी ग्याँसहरू मुख्य रूपमा मासु र मासुजन्य उत्पादनकै कारण उत्पन्न हुन्छन् । पर्यावरण रक्षाका लागि सम्पूर्ण वैज्ञानिकहरू अत्यन्त चिन्तित हुँदै भन्दछन् – यदि धर्तीलाई साच्चै नै बचाउने हो भने मासु छोड्नुहोस् र हरियाली बढाउनुहोस् ।
महान् वैज्ञानिक डा. मदनमोहन बजाज र विजयराजका अनुसार भूकम्प जानुका कारणहरूमा प्रमुख कारण ई पी वेभ्स प्राणीहत्या गर्दा प्राणीहरूको क्रन्दन या चित्कारमा उत्पन्न हुन्छ ।
नासाका वरिष्ठ जलवायु विशेषज्ञ डा.जेम्स ह्याम्सेन भन्नुहुन्छ – कसैले कार्वन उत्सर्जन कम गर्न चाहेमा सबैभन्दा प्रमुख कदम नै शाहाकारी जीवनशैली हो ।
यूएनका वैज्ञानिक डा राजेन्द्र पचौरी भन्नुहुन्छ – कृपया मासु कम खानु होस् यसले अत्यधिक कार्वन निकाल्छ । १ किलो मासुले ३६.४केजी कार्वनडाइअक्साईड उत्पन्न गर्छ।
जेफ आनहाङ्ग र रोवट गुडल्याण्ड भन्नुहुन्छ – ५१% ग्लोबल वार्निङ्गको कारण मांसाहार र पशु उत्पादन नै हो ।
युनिर्भसिटि अफ सिकागोका गिडोन एसेल र पामेला मार्टिन भन्नुहुन्छ – एक व्यक्तिले मासु खान छाड्दा प्रतिदिन ४.१केजी कार्वनाडाइअक्साईड उत्पन्न हुनबाट बचत हुन्छ त्यस्तै भारतकी पूर्व वातावरणमन्त्री मोनिका गान्धी भन्नुहुन्छ – यदि कसैले पृथ्वी बचाउन चाहन्छ भने उसले सबैभन्दा पहिलो कार्य नै मांसाहार बन्द गर्नुपर्ने हुन्छ ।
मासु र स्वास्थ्य
संसारमा बढिरहेका अनेकौैँ भयावह रोगहरूका कारक कोलेस्ट्रोल, युरिक एसिड, टेनिया सोलिठमजस्ता तत्त्वहरू मासु र अण्डामा प्रशस्तै पाइने हुनाले मासु र अण्डाको सेवनले सयौं प्रकारका रोगहरूलाई जन्म दिन्छन् । मासु र अण्डामा पाइने अत्यधिक कोलेस्ट्रोलले उच्च रगतचाप, कोरोनरी हृदयरोग, प्यारालाइसिस, हृदयघात, स्ट्रोकजस्ता असाध्य रोगहरू लाग्दछन् । मांसाहारबाट हाडजोर्नी दुख्ने समस्या हुन्छ। यसको कारक युरिक एसिड प्रोटिनको मेटावलिक प्रोडक्टका रूपमा उत्पन्न हुने गर्दछ। छारे रोग (मिर्गी) को कारण टेनिया नामक नाम्ले जुका पनि मासुमा पाइन्छ । मासु प्रयोगले मस्तिकमा सेराटोनिनको मात्रा घट्न जान्छ; जसले अनिद्रा, चिन्ता, भय, अशान्ति, तनावजस्ता समस्याहरू जन्मन्छन् । अण्डाको सेतो भागमा पाइने एडमिन वायोटिक कम्प्लेक्स नामक लस्सादार पदार्थले ग्याष्ट्रिक, कोलाइटिस, एग्जिमाजस्ता रोगहरू लाग्दछन् । अण्डामा डिडिटी र बिएचसिजस्ता घातक विषहरू पनि पाइएको छ भने फार्ममा प्रयोग गरिने साइट्रानार्क, सेनिथिन, हार्मोन, सुई र विषाक्त औषधिहरूको अत्यन्तै प्रतिकूल प्रभाव देखिएको छ । दम, ब्रोङ्काइटिस कफ जस्ता रोग भएका व्यक्तिले अण्डा बिल्कुलै खानुहुँदैन । जण्डिस भएको व्यक्तिले भुलले मासु खाँदा कैयौंले ज्यान नै गुमाएका उदाहरण प्रशस्तै पाइएको छ । जर्मनका वैज्ञानिक प्रो.एम्न वर्ग भन्नुहुन्छ – अण्डाले ५३.८३% कफ पैदा गर्ने हुनाले कफ रोगीका लागि अण्डा अत्यन्त घातक छ । त्यस्तै डा मरिसन लस एंजिल्स, डा मूर, डा हंटर आर्थर न्यूयोर्क, डा डि एन केस एम डी, डा एम ही टीड डेनमार्क, डा यम नर्वेस्ट, डा ए पाचमेन, डा राल्वोर न्यूवर्गजस्ता विश्वविख्यात वैज्ञानिकहरूले मासु र अण्डा मानव स्वास्थ्यका लागि हितकारी नभई अत्यन्त घातक भनी बताएका छन् । व्यापारिक दृष्टिले मासु र अण्डाका एकतर्फी विज्ञापनहरूले गर्दा र विज्ञानको यो खोजलाई जनजनमा नपुर्याइएकाले नै अण्डा र मासु स्वास्थ्यका लागि हितकर छन् भन्ने ठूलो भ्रम छ तर पश्चिममा यो खोजलाई बुझेका लाखौं व्यक्तिहरू मांसाहार छोडी अत्यन्त तीव्र गतिमा शाकाहारी बन्दै गइरहेका छन् ।
मानिस शाकाहारी प्राणी हो
शारीरिक बनावटमा तिखा नङ र दाँत नहुनु, रातमा आँखाले नदेख्नु, आन्द्रा छोटो नहुनु, शरीरबाट पसिना आउनु, पानी ओठले पिउनु, पेटबाट अम्लीय पदार्थ (HCL) पर्याप्त ननिस्कनु, मुखमा क्षारीय रसायन टायलिन आउनु, जन्मँदा नै आँखा खुल्नुजस्ता गुणले मनुष्यलाई मांसहारी प्राणीदेखि सर्वथा अलग सिद्ध गर्दछन् । त्यसैले मासु र अण्डा मानव शरीरको प्रकृति विरुद्धको भोजन हो । प्रकृतिविरुद्ध भोजनले रोग लाग्नु कुनै आश्चर्यको कुरा होइन । दसैँ नजिकिदै गर्दा स्वाइनफ्लु, वर्डफ्लु, म्याड काउ डिजिजजस्ता रोग फैलिएकाले सबैमा मासुप्रति सजकता बढ्दै गएको छ ।
विश्वका अधिकांश महापुरुषहरू शाकाहारी
एडिसन, आइन्स्टाइन, न्युटन, डार्विन, निकोला टेस्ला, हेनरिफोड जस्ता वैज्ञानिकहरू दा भिन्चि, इमर्शन, जर्ज वर्नाड शा, जोन रविन्स, मार्क ट्वेन, भोल्टेयर, टाल्सटाय जस्ता लेखकहरू जिसस, बुद्ध, सुकरात, कन्फ्यूसियस, लाओत्सु, फाइथागोरस, सेन्ट फ्रान्सिस जस्ता धर्म गुरु र दार्शनिकहरू राजकुमारी डायना, महात्मा गान्धी, डा मनमोहन सिंह, अब्दुल कलाम, सचिन तेन्दुलकर, अमिता बचन, क्याट्रिना, हेमा,अमिर खान, माधुरी दीक्षित, खिलराज रेग्मी, निखिल उप्रेति,लीलामणि पौडेल, मदनकृष्ण, कृष्ण सिटौला, लक्ष्मण घिमिरे, दलाइ लामा, मोहम्मद अलि, बुल्ले शाह, मोहम्मद रहिम, डा.राजेन्द्र प्रसाद, जर्ज ह्यारिसन, अलेक्जेन्डर दार्गात्ज, टिना टर्नर जस्ता प्रसिद्ध व्यक्तिहरू सबै शाहाकारी हुन् ।
हात्तीको विशाल शरीर र शक्ति, घोडाको फूर्ति, गैडाको ठूलो र भीमकाय शरीर शाकाहारबाट नै निर्मित हो ।
मांसाहारभन्दा शाकाहार पोषिलो
मासु र अण्डा सर्वाधिक प्रोटिनयुक्त भनी अत्यन्त भ्रामक प्रचार गरिएको छ । आश्चर्य छ शरीरलाई शक्ति दिने कार्बोहाइड्रेड त माछा, मासु र अण्डामा बिल्कुलै पाइदैन । त्यसैले मांसाहारबाट शक्ति प्राप्त हुन्छ भन्नु भ्रम मात्रै हो । प्रोटिन र क्यालोरी पनि मांसाहारभन्दा शाकाहारबाट धेरै प्राप्त हुन्छ । तलको फुड भ्यालु चार्टबाट यो कुरा स्पष्ट बुझ्न सकिन्छ ।
वस्तु प्रोटिन प्रतिशतमा) क्यालोरी प्रति १०० ग्राममा)
अण्डा १३.३% १७३
मासु १८% १९४
तिल १८.३% ५६४
जिरा १८.७% ३५६
पेस्ता १९.८% ६२६
बदाम २०.८% ६५५
काजु २१.२% ५९६
चना २२.३% ३३३
केराउ २२.९% ३५८
मास २४% ३५०
मुङ २४% ३३४
पनीर २४.१% ३४८
मसुरो २५.१% ३४६
मेथी २६.२% ३३३
मुङफली ३१.५% ५४९
नौनी ३५.३% ९००
दुधपाउडर स्प्रेटा ३८.३% ३५७
भटमास ४३.२% ४३२
१ केजी मासु उत्पन्न गर्न ७ केजी अन्न चाहिन्छ । विश्वको ४३% अन्न र ८५% भटमास पशुपालनमा सिध्याइन्छ । विश्वको ७०% शुद्ध पानी मासु उत्पादनमा खर्च गरिन्छ । प्रति वर्ष ७६ करोड टन अन्न पशुलाई खुवाइन्छ । एकातिर ९० करोड मनुष्यहरू भोकै सुत्छन् भने ३ अर्ब मनुष्यहरू कुपोषणका सिकार भएका छन् । विश्वमा ३३% मनुष्यलाई मुटुरोग छ । मासु छोड्ने हो भने मासुको कारणले लागेको ५०% मुटु रोगमा कमी आउँछ भने ८०% मुटुको सर्जरी गर्नुपर्दैन । मासु छोड्नाले १५ वर्ष अधिक बाँच्न सकिन्छ । त्यसैले शाहाकारी बनौं मानव अधिकार मात्रै होइन पशु अधिकारको पनि रक्षा गरौं सबै प्राणीलाई मनुष्य जस्तै बाँच्ने अधिकार छ । अतः उनीहरूको जीवन रक्षा गरी प्रकृति र परमेश्वरको दृष्टिमा असल, उपयोगी र सच्चा मनुष्य बनौं । दसैँलाई हिंसाको होइन प्रेम र करुणाको पर्व बनाअौं । मन्दिरलाई स्वच्छ र पवित्र बनाई पर्यटकहरूको संख्यामा वृद्धि गरी देशको आर्थिक वृद्धि गरौं ।










प्रतिकृया दिनुहोस्