- १ आश्विन २०८०, सोमबार ०७:०४
काठमाडाैं। नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक याे बर्ष विगतभन्दा बढेकाे छ । विगतमा काेराेना संक्रमणका कारण भिडभाड गर्न नपाएकाले धार्मीक तथा विभिन्न स्थानमा हुने तिजकाे कार्यक्रम राम्रोसँग हुन पाएकाे थिएन । यस वर्ष भने उत्साहका साथ तिज कार्यक्रम हुँदै छ ।
तिजकाे राैनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि उत्तिकै हुने गरेकाे छ । तिजमा विषेश गरि महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान् काे दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।
सहरी क्षेत्रको तीजका कार्यक्रम पाैराणीक महत्व र संस्कृति अनुसार भन्दा पनि भड्किलो हुन थालेपछि कतै यसकाे महत्व विस्तारै लाेप हुने त हाेइन भन्ने चिन्ता पनि सुरू भएकाे छ । तीजको रमझममा पश्चिमा शैली मिसिन थालेपछि तिजकाे माैलिकताकाे बारेमा वहस समेत हुन थालेकाे छ ।
सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् ।चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । विग्रिएकाे सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व रूपमा तीजलाई लिने पनि गरिन्छ ।
नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ ।
धार्मिक मान्यता अनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।
पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।










प्रतिकृया दिनुहोस्