- २६ कार्तिक २०७८, शुक्रबार १३:४७
किर्ते लालपुर्जाका भरमा कुमारी बैंकबाट कर्जा प्रवाह भएको घटनाको नेपाल राष्ट्रबैंकले पनि अनुसन्धान थालेको छ । बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्यको स्वामित्वमा रहेको १२ बिघा जग्गाको किर्ते लालपुर्जा बनाई त्यसका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण निकालिएको थियो ।
राष्ट्रबैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार यो प्रकरणको छानबिनका लागि स्थलगत अनुसन्धान सुरु भइसकेको छ । घटनाको स्थलगत निरीक्षणका लागि राष्ट्रबैंकले टोली खटाइसकेको छ । टोलीले दिएको प्रतिवेदनका आधारमा केकस्तो कारबाही गर्ने भन्ने टुंगो हुने पोखरेलले बताए । प्रतिवेदत हेरेपछि मात्रै बाफियाअनुसार कारबाही गर्ने हो कि होइन, बैंकिङ कसुर आकर्षित हुने हो कि भन्ने थाहा हुने उनको भनाइ छ ।
गायक अमात्यको बिरुवा भूमि वनकाली कम्पनीका नाममा रहेको उक्त जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिनेदिने प्रक्रियामा संलग्न ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा जग्गाको मूल्याङ्कनकर्ता राजेश चौरासिया, ऋण लिने कार्यमा संलग्न शेषकुमार महर्जन, कुसन प्रधान र मुक्तिलाल गौतम तथा कुमारी बैंकको पर्सा शाखाका ऋण अधिकृत सोनु ठाकुर छन् । सीआइबीले राजेश चौरसियालाई कात्तिक २१ गते पक्राउ गरेको हो भने अरु चारजनालाई कात्तिक ११ गते नै पक्राउ गरेको थियो । उनीहरुमाथि बैंक ठगी तथा सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाएर ऋण निकालिएको थाहा पाएपछि गायक अमात्यले गत भदौमा सीआइबीमा उजुरी दिएका थिए । जग्गाको नक्कली पुर्जासहितको कागजपत्र तयारी पारी ऋणका लागि सुरुमा कुमारी बैंकको पर्सा शाखामा पेस गरिएको थियो । पर्सा शाखाले फाइल न्युरोड शाखामा पठाएको थियो । न्युरोड शाखाले पनि स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पत्राचार गरेको थियो । सोही आधारमा केन्द्रीय बैंकले अनुमति दिएपछि न्युरोड शाखाबाट रकम निकालिएको पाइएको सीआइबीले जनाएको छ ।
यो ठगी प्रकरणमा कुमारी बैंकको पर्सा शाखा, न्युरोड शाखा र केन्द्रीय कार्यालयका कर्मचारीको मिलेमतो र संलग्नता छ-छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको सीआइबीले जनाएकोे छ ।
यस घटनामा बैंकको उच्च नेतृत्वको पनि संलग्नता रहेको आशंकामा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुजमणि तिमल्सिनालाई सिआइबीले बयानका लागि बोलाएर आवश्यक कागज गराई छोडेको छ ।










प्रतिकृया दिनुहोस्