- ८ बैशाख २०८०, शुक्रबार १४:१२
असारको मध्यदिनमा गर्मी निकै चर्केको थियो । भगवान् बुद्ध आफ्ना शिष्यका साथ कुनै यात्रामा थिए । उनी जता जाँदै थिए, त्यहाँ कतै पनि रुख थिएनन् । चारैतिर बालुवैबालुवा मात्र देखिन्थ्यो । बालुवामाथि हिँड्दा बुद्ध र उनका शिष्यहरूको पदचिह्न बालुवामा परेको थियो । अचानक अलिक पर एउटा रुख देखियो । सबैमा आशाको सञ्चार भयो । रुखको फेदमा पुगेपछि बुद्ध र उनका शिष्यले त्यहाँ एकछिन विश्राम गरे ।
बुद्ध र उनका शिष्य जुन बाटो हुँदै अघि बढिरहेका थिए, त्यही बाटो हुँदै एक ज्योतिष पनि आफ्नो घरतिर जाँदै थिए । उनले बालुवामा बनेका पदचिह्न देखे । उनी ती पदचिह्न देख्दा छक्क परे । ती पदचिह्नमध्ये बुद्धका पैतालाका चिह्नले उनलाई आश्चर्यमा पारे । उनी केही बुझ्न सकिरहेका थिएनन् । किनकि, उनले यसअघि आफ्नो जीवनमा यस्तो पदचिह्न देख्न पाएका थिएनन् ।
ज्योतिषलाई ती पदचिह्न कुनै चक्रवर्ती सम्राट्को हुनुपर्छ भन्ने लाग्यो । किनकि, तीमध्ये बुद्धका पदचिह्नमा पद्मको छाप थियो । यस्तै सोच्दै अघि बढ्दै जाँदा उनी पनि सोही रुखको फेदमा पुगे, जहाँ बुद्ध र उनका शिष्यहरू विश्राम गरिरहेका थिए । अगाडि बुद्धलाई देख्दा उनलाई विश्वासै लागेन । किनकि, एक सन्न्यासीको पदचिह्न त्यस्तो हुन सक्छ भन्नेमा उनलाई रत्तिभर विश्वास लागेन ।
बुद्धको अनुहारमा चम्किलो कान्ति थियो । ज्योतिषले हात जोडेर बिन्ती गरे– हे प्रभु, तपाईंको पैतालामा जुन पद्मको छाप छ, त्यो अति नै दुर्लभ छ । हजारौँ वर्षमा कुनै–कुनै भाग्यशालीको पैतालामा मात्र यस्तो चिह्न देखिन सक्छ । हाम्रो ज्योतिष विद्याअनुसार त हजुर एक चक्रवर्ती सम्राट् हुनुपर्ने हो । तर, हजुर त… ! ज्योतिषको भनाइ सुनेपछि बुद्ध मुसुक्क मुस्कुराए र भने– सायद तपाईंको ज्योतिष विद्या सही हुन पनि सक्थ्यो । तर, अब म सबै प्रकारका बन्धनबाट मुक्त भइसकेको छु ।










प्रतिकृया दिनुहोस्