- २५ फाल्गुन २०७८, बुधबार ०६:५९
काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गरिने जनाएको छ ।
मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदैआएको तर यस पटक हरियो रंग स्पष्ट भएकाले उक्त रंग प्रयोग गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसङ्ख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत स्पष्ट नभएको मात्र होइन, मतगणनामा सजिलो होस्, मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियोस् भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसङ्ख्या राख्ने आयोगले निर्णय गरेको हो ।’
अघिल्ला निर्वाचनमा पनि हरियो, नीलो, रातो र कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको अभ्यास भइरहेको आयोगको भनाइ छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसिले छपाइ गर्ने निर्णय गरेको सोमबार आयोजित पत्रकार भेटमा जानकारी दिएको हो । आयोगको मतपत्रमा हरियो रंगलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघि आपत्ति जनाएका थिए । हरियो रंग प्रयोग गर्दा रुखको चुनाव चिह्न मात्रै देखिने संकेत गरेका थिए । साथै आयोगले यदी हरियो रंग प्रयोग गर्ने निर्णय गरेको भए आफूलाई अमान्य भएको पनि बताएका थिए ।










प्रतिकृया दिनुहोस्