- २७ भाद्र २०८३, शनिबार २१:२९
काठमाडौं । विष्णुप्रसाद पाेखरेल, हरितालिका तीज नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक मौलिकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई एकै सूत्रमा गाँस्ने विशिष्ट पर्व हो। यो केवल व्रत र पूजामा सीमित पर्व नभई नारीशक्ति, पारिवारिक पुनर्मिलन, सामाजिक अन्तर्घुलन, आत्मसमीक्षा तथा सकारात्मक रूपान्तरणको उत्सवका रूपमा विकसित भएको देखिन्छ।
धार्मिक तथा आध्यात्मिक पक्ष-
हरितालिका तीजमा उमामहेश्वरको अर्चना गरिन्छ। पार्वती र शिवको आराधनामार्फत दाम्पत्य जीवनमा प्रेम, समर्पण, पारस्परिक सम्मान, सौहार्द र मंगलकामनाको भाव अभिव्यक्त हुन्छ। उपवासलाई पनि आत्मसंयम, सात्त्विकता र सकारात्मक ऊर्जाको साधनका रूपमा ग्रहण गर्न सकिन्छ। उपवास व्यक्तिको क्षमता र स्वास्थ्यअनुकूल निराहार, फलाहार वा नक्तभोजी हुन सक्ने स्वेच्छिक साधना हो।
यस अवसरमा सात्त्विक गुणको आधान गर्ने, राजसी तथा तामसी प्रवृत्तिका भोजन र व्यवहारबाट टाढा रहने तथा मन, वचन र कर्मलाई शुद्ध बनाउने संकल्प गरिन्छ। तीजअघिको दरमा पनि सात्त्विक, रुचिकर र सुपाच्य प्रकृतिको भोजनलाई प्राथमिकता दिनु यसको स्वस्थ सांस्कृतिक रूप हुन सक्छ।
नारीशक्ति र नारी सम्मानको पर्व-
तीज मूलतः नारीको सामाजिक उपस्थिति, आत्मसम्मान र सामर्थ्यलाई अभिव्यक्त गर्ने पर्वका रूपमा स्थापित भएको छ। यसलाई मातृशक्तिको पुनर्जागरणको पर्वका रूपमा पनि ग्रहण गर्न सकिन्छ। नारीकी आदर्श विदुषी तथा तपस्विनी लोपामुद्रा र अरुन्धतीजस्ता महान् नारी व्यक्तित्वहरूको स्मरण र सम्मानले नारीलाई केवल पारिवारिक भूमिकामा सीमित नगरी ज्ञान, तप, संस्कार, नेतृत्व र कर्तृत्वको प्रतीकका रूपमा स्थापित गर्दछ।
पारिवारिक मिलन र आत्मीयताको पर्व-
विवाहपश्चात् आफ्नो जन्मघरबाट टाढा गएका छोरी-चेलीहरू तीजका अवसरमा माइतीघर फर्कने परम्पराले जन्मघरप्रतिको प्रेम, आत्मीयता र सद्भावलाई पुनर्जीवित गर्छ। वर्षौँदेखि टाढा रहेका सखी-सहेली तथा आफन्तसँग पुनर्मिलन हुने भएकाले यो पारिवारिक तथा सामाजिक सम्बन्ध नवीकरण गर्ने पर्व पनि हो।
दुःख-सुख साटासाट गर्ने, मनका कुरा व्यक्त गर्ने, पारिवारिक समस्या पहिचान गर्ने र सम्भव समाधानका लागि संवाद गर्ने अवसरसमेत तीजले प्रदान गर्छ। यसरी पारिवारिक कलहलाई दबाएर राख्नुको सट्टा संवाद, समझदारी र मेलमिलापमार्फत समाधानतर्फ उन्मुख हुने संस्कारको विकास गर्न सकिन्छ।
सामाजिक अन्तर्घुलन र समन्वय-
तीजले समाजका विभिन्न वर्ग, समुदाय र पुस्तालाई एकै सांस्कृतिक परिवेशमा जोड्ने काम गर्छ। गीत, नृत्य, भेटघाट, पूजा तथा सामूहिक उत्सवमार्फत सामाजिक अन्तर्घुलन, सद्भाव र सहकार्य अभिवृद्धि हुन्छ। त्यसैले हरितालिका तीजलाई कुनै एक वर्गमा सीमित नभई सबै जाति, समुदाय र वर्गको सर्वजनिन तथा समन्वयात्मक पर्वका रूपमा विकसित गर्न सकिन्छ।
कला, प्रतिभा र सांगीतिक अभिव्यक्तिको पर्व-
तीजका गीत र नृत्य नेपाली लोकसंस्कृतिका जीवन्त अभिव्यक्ति हुन्। विगतका पीडा, वर्तमानका अनुभूति, पारिवारिक सम्बन्ध, सामाजिक विकृति, आशा, आकांक्षा र समसामयिक विषयहरू गीतका माध्यमबाट व्यक्त हुँदै आएका छन्। यस अर्थमा तीज प्रतिभा प्रस्फुटन, सिर्जनात्मक अभिव्यक्ति र सांगीतिक महोत्सवको पर्व पनि हो। तर यसको मौलिकता र मर्यादा कायम राख्दै अश्लीलता, विकृति र अनावश्यक प्रदर्शनबाट मुक्त सुसंस्कृत, सिर्जनशील र सन्देशमूलक सांगीतिक परम्परालाई प्रोत्साहन गर्नु आवश्यक छ।
आत्मसमीक्षा र नयाँ संकल्पको पर्व-
तीजलाई जीवनको वार्षिक आत्मसमीक्षाको अवसरका रूपमा पनि ग्रहण गर्न सकिन्छ। वर्षभरिका आफ्ना कार्य, व्यवहार र निर्णयको पुनर्मूल्याङ्कन गर्दै भएका कमजोरीप्रति प्रायश्चित्त र सुधारको संकल्प गर्ने तथा आगामी दिनमा नवीन र सकारात्मक कार्यको सुरुवात गर्ने प्रतिज्ञा गर्न सकिन्छ।
यस दृष्टिले तीज केवल विगत सम्झने पर्व होइन; विगतको समीक्षा, वर्तमानको शुद्धीकरण र भविष्यको संकल्प गर्ने पर्व हो।
ऋषि-परम्परा र सांस्कृतिक स्मरण-
सनातन परम्परामा परिवार, समाज र संस्कृतिको निरन्तरताका लागि ऋषि–परम्पराको विशेष महत्त्व छ। वंश, ज्ञान र संस्कारका प्रवर्तक सप्तर्षिहरूको स्मरण तथा पूजनले आफ्नो सभ्यता, ज्ञानपरम्परा र पुर्खाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ।
दाम्पत्य जीवन र ब्रह्मचर्यको सन्देश-
उमामहेश्वरको आराधनाले पति-पत्नीबीचको प्रेम, विश्वास, समर्पण र सहकार्यको आदर्शलाई स्मरण गराउँछ। साथै ब्रह्मचर्यको व्यापक अर्थमा इन्द्रियनिग्रह, संयम, सदाचार र आत्मअनुशासनलाई जीवनमा आत्मसात् गर्ने प्रेरणा प्राप्त हुन्छ।
सांस्कृतिक पहिचान र सौन्दर्य-
तीज नेपाली नारीको सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। परम्परागत भेषभूषा, आभूषण तथा षोडश शृङ्गारमा सजिएर पर्व मनाउने परम्पराले नेपाली मौलिक संस्कृति र सौन्दर्यचेतनालाई अभिव्यक्त गर्छ। यसको मूल उद्देश्य बाह्य प्रदर्शनभन्दा पनि आत्मीयता, उत्सव, सांस्कृतिक गौरव र सामूहिक आनन्द हुनुपर्छ।
सर्वाभ्युदयको कामना-
तीज व्यक्तिगत सुख वा पारिवारिक समृद्धिमा मात्र सीमित नभई आफू, परिवार, समाज र राष्ट्रको सर्वाङ्गीण उन्नतिको कामना गर्ने पर्व बन्न सक्छ। नयाँ पुस्तालाई पुरानो पुस्ताबाट संस्कार, भाषा, गीत, भेषभूषा, पूजा–परम्परा र सामाजिक मूल्य हस्तान्तरण गर्ने महत्त्वपूर्ण अवसर पनि यही हो।
सामाजिक जागरण र राष्ट्रिय दायित्व
तीजका गीत र सामूहिक अभिव्यक्तिलाई सामाजिक विकृति, दुराचार, हिंसा, अन्याय तथा विभेदविरुद्ध सशक्त र सभ्य आवाज उठाउने माध्यम बनाउन सकिन्छ। त्यस्तै राष्ट्रिय समस्या, सार्वजनिक सरोकार र नेतृत्वप्रति सकारात्मक खबरदारी गर्दै राष्ट्रहितका विषयमा जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा पनि यसको उपयोग गर्न सकिन्छ।
यसरी तीजको उत्सव व्यक्तिगत मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक जिम्मेवारी र राष्ट्रिय चेतनासँग जोडिनु आवश्यक छ।
हरितालिका तीज उमामहेश्वरको आराधना, नारीशक्तिको सम्मान, पारिवारिक पुनर्मिलन, सखी-सहेलीको आत्मीय भेट, दुःख–सुखको आदानप्रदान, कला-साहित्य र संगीतको अभिव्यक्ति, आत्मसमीक्षा, प्रायश्चित्त, नयाँ संकल्प तथा सामाजिक जागरणको समन्वित पर्व हो।
यसले एकातर्फ नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानलाई जीवन्त राख्छ भने अर्कोतर्फ नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण गर्ने अवसर प्रदान गर्छ। त्यसैले तीजलाई सात्त्विकता, मर्यादा, समानता, सद्भाव, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वसहित मनाउँदै यसको मौलिक सांस्कृतिक स्वरूपको संरक्षण गर्नु आजको आवश्यकता हो।
अन्ततः हरितालिका तीज केवल व्रत बस्ने दिन होइन-
आफूलाई शुद्ध गर्ने, सम्बन्धलाई नवीकरण गर्ने, संस्कृतिलाई पुस्तान्तरण गर्ने, समाजलाई जागृत गर्ने र समग्र जीवनको सर्वाभ्युदयको कामना गर्ने नेपालीहरूको मौलिक, हर्षोल्लासपूर्ण तथा समन्वयात्मक पर्व हो।










प्रतिकृया दिनुहोस्