- १६ मंसिर २०८२, सोमबार ०९:०५
काठमाडौँ । शितला माध्यमिक विद्यालय, काठमाडौँले आज सामाजिक लेखा–परिक्षण (Social Audit) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले सामाजिक लेखा–परिक्षणलाई गुणस्तरीय शिक्षा, पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारस्तम्भका रूपमा लिएर यस वर्षको गतिविधि, उपलब्धि, चुनौती र आगामी योजना सार्वजनिक रूपमा प्रस्तुत गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. १६ की वडाध्यक्ष श्रीमती रोजिना श्रेष्ठ उपस्थित रहनु भयो। उहाँले विद्यालय नेतृत्वको पारदर्शिता, सतत सुधारप्रतिको प्रतिबद्धता तथा छोटो समयमा गरेको प्रगतिशील कार्यप्रति प्रशंसा गर्दै शितलालाई अझ उत्कृष्ट बनाउन निरन्तर साथ–सहयोग रहने बताउनुभयो।
त्यस्तै, तरुण माध्यमिक विद्यालयका प्राचार्य श्री बाबुराम न्यौपाने, ज्ञानोदय माध्यमिक विद्यालयकी प्राचार्या श्रीमती विष्णु कुमारी रिमाललगायत उपस्थित सरोकारवालाहरूले सामाजिक लेखा–परिक्षणले विद्यालय सुधार र सामुदायिक विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै रचनात्मक सुझावहरू प्रदान गरे।
विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, अनुभवी स्रोत व्यक्ति श्री नारायण नेपाल तथा विद्यालयका सक्रिय अभिभावक र कर्मचारीको सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको विद्यालयले जनाएको छ।
कार्यक्रम माध्यमिक शिक्षक लक्ष्मण ढकालले सञ्चालन गर्नुभएको थियो। सो अवसरमा सहायक प्रधानाध्यापक ईश्वरी अधिकारीले वार्षिक प्रतिवेदन तथा लेखापाल कमल पौडेलले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्यले सहभागी सबैप्रति आभार व्यक्त गर्दै भने,
“सामाजिक लेखा–परिक्षणले शितला माध्यमिक विद्यालयलाई अझ पारदर्शी, उत्तरदायी र आदर्श शिक्षण समुदायका रूपमा उभ्याउन मार्गदर्शन गरेको छ। तपाईंहरूको निरन्तर साथ र सुझावले हाम्रो यात्रा अझ सशक्त बन्छ।”
सामाजिक लेखा–परिक्षण कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा सरोकारवाला संस्थाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।










प्रतिकृया दिनुहोस्