- ९ भाद्र २०८२, सोमबार १६:३०
काठमाडौं, भदौ ९ । नेपाली भाषा र लिपिको अस्तित्व नै संकटमा पार्ने गरी सरकारद्वारा अनिवार्य रूपमा अंग्रेजी (रोमन लिपि) प्रयोग गरिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयको विरोध तीव्र बन्दै गएको छ ।
सोमवार प्राज्ञिक विद्यार्थी परिषद्को प्रतिनिधि टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेट गरी निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । परिषद्ले यातायात व्यवस्थापन कार्यालयले रोमन लिपिमा मात्र नम्बर प्लेट जडान गर्न जारी गरेको सूचना अव्यावहारिक, गैरसंवैधानिक र भाषिक अस्तित्वविरुद्धको योजना भएको आरोप लगाएको छ ।
भाषा र संविधानसँग ठोक्किएको नीति
नेपालको संविधान २०७२ को धारा ७ ले ‘राष्ट्रिय भाषा नेपाली हो र देवनागरी लिपि आधिकारिक लिपि’ भनी स्पष्ट व्यवस्था गरेको छ । यति हुँदाहुँदै पनि नेपाली भाषालाई बेवास्ता गरी रोमन लिपि मात्र प्रयोग गर्न बाध्य पार्ने निर्णयलाई विद्यार्थी परिषद्ले राष्ट्रिय अस्तित्वमाथिको सीधा आक्रमण भनेको छ ।
मन्त्रीमाथि दबाब
मन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा निर्णय सच्याइ नलिए देशव्यापी आन्दोलन उग्रिने चेतावनी दिइएको छ । परिषद्का प्रतिनिधिहरूले मन्त्रीलाई भेट्दा हाल देशभरबाट यो निर्णयविरुद्ध दबाब सिर्जना भइरहेको र विद्यार्थी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकको असन्तुष्टि बढिरहेको जानकारी गराएका थिए ।
देशभर ज्ञापनपत्र अभियान
विद्यार्थी परिषद्ले यो अभियानलाई देशव्यापी रूपमा फैलाएको छ । हालसम्म विभिन्न जिल्लाका प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । यसरी क्रमशः राष्ट्रिय स्तरमा जनदबाब निर्माण भइरहेको परिषद्ले जनाएको छ ।
निष्कर्ष
भाषा, संस्कृति र संविधानसँग प्रत्यक्ष सम्बन्धित विषयमा सरकारले पर्याप्त छलफल नगरी हतारमा गरिएको निर्णयले सामाजिक असन्तोष र अविश्वास बढाएको छ । विद्यार्थी परिषद्को आन्दोलनले यो मुद्दा अझै तीव्र बन्ने सङ्केत दिएको छ ।
अनिवार्य इम्बाेष्ट नम्बर प्लेट जडाकाे विराेधमा विद्यार्थी परिषद्ले देशभरकाे जिल्ला प्रशासन कार्ययलयमा बुझाउँदै गरेका ज्ञापनपत्रकाे तस्वीरहरू











प्रतिकृया दिनुहोस्