- ७ भाद्र २०८२, शनिबार १२:४८
काठमाडौँ, भदौ ६। काठमाडौँ महानगरपालिका–१६ बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयले शुक्रवार भव्य रूपमा बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल सरकारका पूर्व खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तथा बागमती प्रदेशसभा सदस्य माननीय बसन्त प्रसाद मानन्धर प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा विद्यालयलाई पछिल्ला दुई वर्षयता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने दाताहरूसँगै, शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। यसअन्तर्गत विद्यालयको छात्रवृत्ति कोषमा नगद तथा जिन्सी सहयोग गर्ने, विद्यार्थी भर्ना सहज बनाउन योगदान दिने तथा शैक्षिक सामग्री उपलब्ध गराउने दाताहरूलाई खादा, माला र सम्मानपत्रले कदर गरिएको थियो।
अक्षय कोष तथा छात्रवृत्तिका लागि दिवाकर दूरदर्शी, रामजी गौतम, जापानी नागरिक ओनाकार प्रतिभा रिजालको समूह, चित्रप्रभा छात्रवृत्ति कोषका लागि रु. १ लाख सहयोग गर्ने चित्रमणी पराजुली र प्रभा पराजुली, रनिङशील प्रतियोगिताका लागि जर्सी उपलब्ध गराउने समाजसेवी श्यामकृष्ण श्रेष्ठ, शैक्षिक सामग्री सहयोग गर्ने देवु कुमारी शर्मा पौडेल, प्रशान्त राज रेग्मी, नवराज ढकाल, लक्ष्मी सनराइज बैंक वनस्थली शाखा, तथा जापान अल स्कुल्स एण्ड स्पोर्ट्स (JASS) लगायतलाई सम्मान गरिएको विद्यालयले जानकारी दिए।
त्यस्तै, विद्यालयबाट गीतामाता माध्यमिक विद्यालयमा सरुवा भएकी नेपाल भाषा सहायक प्रशिक्षक विनिता तण्डुकारलाई कार्यकालमा देखाएको समर्पण र लगनशीलताको कदर गर्दै सम्मान गरिएको थियो। त्यसैगरी, लामो समयदेखि प्राथमिक तह द्वितीय श्रेणी शिक्षकका रूपमा कार्यरत राधा बोगटीको अनिवार्य अवकाश भएकाले बिदाई गरिएको थियो। विद्यालय परिवारले उहाँको योगदानप्रति आभार व्यक्त गर्दै अवकाशपश्चात सुखमय जीवनको शुभकामना व्यक्त गरिएको थियो।
शिक्षण क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने शिक्षकहरूमध्ये २०८० र २०८१ सालमा कक्षा १० (एसइइ) तथा कक्षा १२ (एसएलसी) को अन्तिम परीक्षामा शतप्रतिशत नतिजा दिलाउन सफल ईश्वरी अधिकारी, सिताराम अधिकारी, केशव श्रेष्ठ र लेखनाथ निरौलालाई समेत विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मानन्धरले विद्यालयको गुणस्तरीय शिक्षा वृद्धि गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै दाताहरूलाई यस्ता सद्भावपूर्ण योगदानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। साथै, विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य दिँदै विद्यालयको प्रगति र उज्ज्वल भविष्यको कामना गरेका थिए।
विद्यालयका प्रधानाध्यापकले सबै सहयोगी, सरोकारवाला तथा उपस्थित अतिथिप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको जानकारी दिनुभयो।










प्रतिकृया दिनुहोस्