- १९ श्रावण २०८२, आईतवार ०७:३३
काठमाडौं, साउन १७ । रिटर्नी फेडेरेसन नेपालको प्रवद्र्धनमा स्थापना गरिएको नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको व्यवसायिक तथा वित्तीय योजना तय गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीले आगामी पाँच वर्षभित्र २५ अर्ब रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको जानकारी गराइएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले जोखिम मोलेर मात्रै उद्यममा सफलता प्राप्त हुने धारणा व्यक्त गरे। उनले “म बनाउँछु, मेरो देश” भन्ने भावनाले नागरिकमा जागृति ल्याउनुपर्ने बताए।

“अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने प्रवृत्तिले राज्य कमजोर बन्दै गएको छ,” उनले भने, “देशमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र बढी प्रभावशाली बनेको छ।”
उनका अनुसार हाल विदेशी पर्यटकभन्दा बढी नेपाली विदेश भ्रमणमा खर्च गरिरहेका छन्। उनले भनिन्, “हाम्रो देश मात्रै गरिब हो, नागरिक होइनन्। हामीले प्रकृतिलाई उपेक्षा गरेका छौं, श्रमिकको अभावकै कारण भारततर्फ रेमिट्यान्स बगिरहेको छ।”
कार्यक्रममा विशेष अतिथि उद्योगमन्त्री दामोदर भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको ज्ञान, पूँजी, सिप र प्रविधिलाई देशको विकासमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
“कानूनी जटिलता र मन्त्रालयहरूबीच समन्वयको अभावले उद्योग व्यापार बढ्न सकेको छैन,” उनले भने।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका इञ्चार्ज डा. कृष्णबहादुर केसीले रिटर्नीप्रति राज्य गम्भीर नदेखिएको गुनासो गरे।
“चीनले नेपाली उत्पादनमा भन्सार छुट दिने सुविधा दिएको भए पनि त्यसको लाभ लिन सकिएको छैन,” उनले भने। नेपाल–चीन सम्बन्ध विज्ञसमेत रहेका केसीले नेपाली उत्पादन गुणस्तरीय बनाउँदै चीनसँग व्यापारिक अवसर बढाउन सकिने बताए।
कार्यक्रममा नवयुग इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी निर्देशक शालिकराम बसेलले स्वागत मन्तव्य दिएका थिए। रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद प्रसाद भट्टराईले संगठनको अवधारणा, उद्देश्य र स्थापना प्रक्रिया प्रस्तुत गर्दै छरिएको पूँजीलाई एकीकृत गरी सामूहिक लगानीको अवधारणा अनुरूप नवयुग इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिए।
कार्यशालामा संविधानसभा सदस्य एवं उद्यमी शान्ता चौधरी, बागमती प्रदेशसभा सदस्य दिनेशचन्द्र देवकोटा र भारती पाठक, धुलिखेल नगरपालिकाका पूर्व प्रमुख अशोक बैजु, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रमको जानकारी रिटर्नी फेडेरेसन नेपालका महासचिव खेम कार्कीले दिएका थिए।
विदेशमा रोजगारीको अवसर खोज्नुपर्ने बाध्यता अझै कायम रहेको तथ्यांकले देखाउँछ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१ साउन १ देखि २०८२ असार ३१ सम्म ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन्।
यो संख्या व्यक्तिगत, संस्थागत, पुनः श्रम स्वीकृति तथा सरकार–सरकारबीचका सम्झौतामार्फत विदेश जानेहरूको हो। औसतमा दैनिक २ हजार ३ सय नेपाली वैदेशिक रोजगारीका लागि देश छाडिरहेका छन्।
यही पृष्ठभूमिमा गत वर्ष पौषमा नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको घोषणा गरिएको थियो। कम्पनीले वैदेशिक अनुभव, पूँजी, सिप र प्रविधिलाई देशमै उपयोग गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा कम्पनीका अध्यक्ष घनश्याम पाण्डेले दोस्रो वर्षभित्र २ अर्ब, तेस्रो वर्षमा ५ अर्ब र पाँच वर्षभित्र कुल २५ अर्ब पूँजी संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले कृषि, पशुपालन, पर्यटन, ऊर्जा, जलविद्युत, पूर्वाधार, सूचना प्रविधि, होटल–रेस्टुराँ तथा नेपाली उत्पादनको निर्यातमा लगानी गरिने र लगानीकर्तालाई १० देखि २५ प्रतिशत नगद लाभांश वितरण गरिने बताए।










प्रतिकृया दिनुहोस्