- २४ असार २०८२, मंगलवार १६:४१
काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गुणस्तरीय शिक्षाका लागि देशकै उदाहरणीय नगरपालिका बनाउँने बताएका छन् । सोमवार कागेश्वरी-मनोहरा नगरपालिका र रातो बङ्ला स्कुलबिच सार्थक बाल सिकाइ कार्यक्रम सञ्चालनका लागि भएको सम्झौताको अवसरमा नगर प्रमुख कार्कीले सो बताएका हुन् ।
सोमवार रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा शान्ता दिक्षित र नगर प्रमुख उपेन्द्र कार्कीबिच इसिडी कक्षा सुधारका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सार्थक बाल सिकाइ कार्यक्रम सञ्चालनका लागि रातो बङ्ला स्कुलले ४० प्रतिशत र नगरपालिकाले ६० प्रतिशत रकम बेहोर्नु पर्नेछ ।
हाल कागेश्वरी मनोहरामा १५ वटा सामुदायिक विद्यालयमा सार्थक सिकाई कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रम अन्तर्गत बालमैत्री कक्षा कोठा हुनुपर्नेछ भने, प्रशिक्षित शिक्षक शिक्षिकाहरुले शिक्षा दिनेछन् ।
नगरपालिकाले २०७९ साल मंसिरदेखि सार्थक बाल सिकाइ कार्यक्रम सञ्चालन गरि शिक्षा क्षेत्रको विकासका लागी रातो बङ्लासँग सहकार्य गर्दै आएको छ ।
नगर प्रमुख कार्कीले शैक्षिक ज्ञानका साथै विद्यार्थीलाई व्यवहारिक र प्रयोगात्मक शिक्षा दिई सक्षम जनशक्ति निर्माण गर्न नगरपालिकाले रातो बङ्लासँग सहकार्य गरेको बताउनु भयो ।
बालबालिकाको उज्ज्वल भविष्यका लागि नगरपालिकाले आधुनिक शैक्षिक पद्धती अवलम्बन गर्दै अगाडी बढ्ने बताउनु भयो । कार्कीले नगरपालिकाले देशमै उदाहरणीय हुने गरि शैक्षिक गुणस्तर सहितको शिक्षा दिन प्रतिबद्ध रहेको समेत बताउनु भयो ।










प्रतिकृया दिनुहोस्