- १७ जेष्ठ २०८२, शुक्रबार १७:४४
काठमाडौं । नेपाली प्रजातन्त्र सेनानी तुलसी नारायण संघ, बागमती प्रदेशको आयोजनामा प्रजातन्त्र सेनानी तुलसी नारायण (खमु) श्रेष्ठको “जीवनगाथा” लोकार्पण तथा सेनानीहरूलाई सम्मान गर्ने कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले श्रेष्ठलाई सम्मान गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे। कार्यक्रममा एक सय जना प्रजातन्त्र सेनानीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, प्रजातन्त्र सेनानी संघका राष्ट्रिय अध्यक्ष बालकृष्ण दाहाल, काठमाडौं जिल्ला अध्यक्ष, वागमती प्रदेश अध्यक्ष गोविन्द गजुरेल लगायत संघका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “बिपी कोइराला त्यस्ता व्यक्तित्व थिए जसले नदेखिएको, नबुझेको कुरालाई पनि आत्मसात गर्दै विचार र सिद्धान्तमा आधारित राजनीतिमा लाग्न प्रेरणा दिनु भएको थियो। तर आजको राजनीति व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदै गएको छ, जुन चिन्ताको विषय हो।”
उनले थपे, “अब व्याजले मात्र पार्टी चल्दैन। वैचारिक विकास र कार्यशैलीले नै पार्टीको पहिचान कायम गर्न सकिन्छ। म आफैं मन्त्रालयभित्र सकारात्मक परिवर्तनका काममा जुटिरहेको छु।”
कार्यक्रमको नेतृत्व बालकृष्ण दाहालले गरेका थिए, जसले प्रजातन्त्र सेनानी संघलाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्दै आएका छन्।
तुलसी नारायण श्रेष्ठले नेपालको प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष र बलिदानी दिएका थिए। उनको जीवनगाथा लोकार्पणमार्फत उहाँका योगदानहरू उजागर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य लिइएको आयोजकहरूले जानकारी दिएका छन्।











प्रतिकृया दिनुहोस्