- ६ माघ २०८१, आईतवार १८:५५
देवघाट धाम । हरिहर सन्न्यास आश्रममा राष्ट्रसन्त श्रीपरमानन्द सरस्वती गुरु महाराजको २८ औं पुण्यस्मृतिमा चार दिवसीय कार्यक्रमको आयोजना गरिएको छ । माघ ६ गतेदेखि आजदेखि ९ गतेसम्म हुने कार्यक्रमकाे पहिलो दिनको पहिलो सत्रमा पुस्तक लोकार्पण कार्यक्रम गरिएको छ । यस कार्यक्रममा हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजजीको प्रमुख आतिथ्यता र महेश सन्न्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरिजी महाराजको विशेष उपस्थिति भएको आयोजकले जनाएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियोे भने विशिष्ट अतिथिकाे रूपमा नेपाल संस्कृति विश्वविद्यालयको उपकुलपति प्रा डा. धनेश्वर नेपालकाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।
लोकार्पण हुने दुईवटा पुस्तकहरूमा लीलाकान्त मराठ्ठाको रचनावाली र उनका सुपुत्र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति शिवहरि मरठ्ठाको जन्मभू कृति रहेका छन् । लीलाकान्त मराठाको रचनावली कृतिमा समीक्षात्मक मन्तव्य दिँदै कालिका संस्कृति विद्यापीठका प्राचार्य सहप्राध्यापक डाक्टर रामचन्द्र कण्डेलले लीलाकान्त मरहठ्ठा व्याकरण, न्याय, ज्योतिष र आयुर्वेदका आधिकारिक र लब्धप्रतिष्ठित विद्वान भएको बताउनु भएको थियोे । शिवहरि मरहठ्ठाको परिवारमा तीन पुस्ता अगाडिदेखि नै संस्कृत साहित्यको गहिरो अध्ययन गर्ने व्यक्तिहरू भएको चर्चा गर्नु भयो । यसैगरी जन्मभू: संस्कृत पद्यसङ्ग्रहको समीक्षा गर्दै प्रा. डा. नारायणप्रसाद खनालले कृति स्वान्त सुखायका लागि रचिएको बताउनु भयो । कृतिमा ४३ वटा पद्य कविताहरू रहेका छन् । कृतिमा कविले आफूले जीवनमा देखे भोगे र अनुभव गरेका कुराहरूलाई विषयवस्तु बनाएका छन् ।

अलङ्कार एवं छन्दका दृष्टिकोणले यो कृति विविधतायुक्त रहेको छ भनी खनालले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्याय, डा. केशव सुवेदी, केदार खनाल, गोपालबाबु मरटठा श्यामजीजस्ता व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा विशेष उपस्थिति महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको रहेको थियोे । महाराजले कविताबाट नै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाल र कवि शिवहरि मराठ्ठालाई स्वागत गर्नुभएको थियो।
यसैगरी मुख्य अतिथि हरिहर सन्न्यास आश्रम देवघाटका श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले संस्कृत शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै यस्ता गहनकृति श्री हरिहर सन्न्यास आश्रमबाट लोकार्पण हुन पाउनु गौरवको कुरा हो भनी बताउनुभयो । कार्यक्रमको सहजीकरण डाक्टर घनश्याम खतिवडाले गरेका गर्नु भएको थियोे ।
सो कार्यक्रममा समापन मन्तव्य दिँदै गलेश्वर आश्रमका पूज्य सन्त कार्यक्रमका सभाध्यक्ष श्री अद्वैतानन्द गिरिजी महाराजले संस्कृत विश्वविद्यालयमा तालाबन्दी गरेर संस्कृतमाथि नै ठूलो प्रहार गरिएको छ भन्दै संस्कृत शिक्षाको महनता र प्राचीनतामा जोड दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।

आजको दोस्रो सत्रमा भने शास्त्रार्थ सभा भएको थियो । यस शास्त्रार्थ सभाको सभाध्यक्ष हरिहर सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल थिए भने उक्त शास्त्रार्थ सभामा विशिष्ट अतिथिको भूमिकामा वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकाल, प्रा. हरिशरण उपाध्याय थिए भने प्राडा नवराज कण्डेल, जगन्नाथ शर्मा कण्डेल, विश्वनाथ धिताल, कमल सुवेदी, कपिलदेव भट्टराई सीताराम लुइँटेलको विशेष सहभागिता रहेको थियो। यस सत्रमा प्रेमनारायण पोखरेल, कुलप्रसाद भट्टराई, सुफल खराल, ओमप्रकाश खरेल, सन्तोष घिमिरे, अनुपम कण्डेल, प्रवीण सापकोटा, विष्णु रेग्मी, हरि कण्डेल, लक्ष्मण भण्डारी र प्रताप लामिछानेजस्ता विद्यार्थीहरुले शास्त्रार्थ गरेका थिए ।
बीचबीचमा मिठा मिठा साङ्गीतिक कोसेलीहरू समेत विद्यार्थीले पस्केका थिए । स्वागत मन्तव्य भने श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले गर्नुभएको थियो । यस कार्यक्रमको सहजीकरण भने उपप्राध्यापक योगराज कण्डेलले गरेका थिए ।










प्रतिकृया दिनुहोस्