- १३ कार्तिक २०८१, मंगलवार ०८:१५
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज तिहार सुरु भएको हो। बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइनेछ।
यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ। बुधबार नै काग तिहार परेकाले त्यसै दिन कागहरूको पूजा गरिनेछ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सायंकालमा त्रयोदशी तिथि परेका दिन यमदीपदान र सूर्योदयकालमा त्रयोदशी परेका दिन काग तिहार मनाउने परम्परा रहेको छ।
यमपञ्चक र अन्य पर्वहरू: यमपञ्चकका अवसरमा यमदीपदान गर्ने परम्परा छ, जसले यमलोकको यातनाबाट मुक्ति पाइने धार्मिक मान्यता छ। यस वर्ष कात्तिक १४ गते धनवन्तरी जयन्ती र बिहीबार कुकुर तिहार तथा लक्ष्मीपूजा एकैदिन परेको छ। कार्तिक शुक्ल प्रतिपदामा गाईगोरुपूजा, गोवर्द्धन पूजा, बलीपूजा र आत्म पूजा (म्ह पूजा) गरिनेछ, जसले आत्माको कल्याण हुने विश्वास गरिन्छ।
भाइटीका कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे
भाइटीकाको साइत यस वर्ष कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे रहेको छ, जहाँ भाइटीका पश्चिम मोहडा गरेर गरिने शास्त्रीय परम्परा छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सर्वसाधारणलाई भने मध्याह्नकालमा पनि टीका लगाउन सकिने बताएका छन्।
तिहारको समयमा झिलीमिली बत्तीसँगै देउसी–भैलोको रमाइलो हुन्छ, जसलाई धेरैले सामाजिक सहयोगका लागि पनि प्रयोग गर्न थालेका छन्। कोजाग्रत पूर्णिमाका दिनदेखि नै देउसी–भैलो खेल्ने परम्परा पनि कर्णाली र सुदूरपश्चिमका कतिपय स्थानमा कायम छ।
यस्तै तिहारमा जुवा खेल्ने परम्परासँगै विकृतिहरू पनि बढेका छन्। कौडा, लङ्गुरबुर्जा र तास खेल्दा केहीले हार र जितका अनुभव सँगाल्छन्। यस्ता विकृतिहरू हटाउन विभिन्न पक्षबाट आवाज उठ्ने गरेको छ। तिहारमा पटाका पड्काउने चलनले दुर्घटना बढ्ने भएकाले नेपाल प्रहरीले सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेको छ।










प्रतिकृया दिनुहोस्