- ४ कार्तिक २०८१, आईतवार १६:१२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा सहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो।
जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र गैह्रापाटनको पालिखेचोकदेखि नवीन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ।
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो। उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जिबी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ










प्रतिकृया दिनुहोस्