- ४ आश्विन २०८१, शुक्रबार १३:२७
अर्घाखाँची, ४ असोज । अर्घाखाँचीको पाणिनि ७ मा रहेको जनसेवा माध्यमिक विद्यालय पाणिनि गाउँपालिकाकै सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ । २०८० सालको आधारभूत तह कक्षा ८ र माध्यमिक तह कक्षा १० (एसईई) को नतिजाका आधारमा गरिएको मूल्याङ्कनमा उक्त विद्यालय सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको हो ।
बिहीबार शिक्षा दिवस तथा संविधान दिवसको अवसरमा पाणिनि गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । सर्वोत्कृष्ट शिक्षकको रूपमा सम्मान प्राप्त गर्नेहरूमा जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासे, शिक्षक इमानबहादुर टण्डन, शिक्षक गोविन्द पौडेल, बुद्धिराम पन्थी, माधव बेल्बासे, कमला घिमिरे, जमुना बेल्बासे, केशव सूर्यवंशी तथा सर्वोत्कृष्ट बाल विकास शिक्षक शान्ता टण्डन रहेका थिए ।
यसैगरी कक्षा १२ तर्फ सर्वोत्कृष्ट विद्यालयको रूपमा फर्सवाटाकुरा माविलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट व्यवस्थापन समितिलाई समेत सम्मान गरिएको थियो ।
पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खनाल, जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, गाउँपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।










प्रतिकृया दिनुहोस्