- २३ भाद्र २०८१, आईतवार १६:१४
काठमाडौं, २३ भदौं-प्रधानमन्त्री केपी शर्मा ओलीले दिवा खाजा र छात्रवृत्तिलाई अझै सुधार गर्दै लैजाने योजना रहेको बताएका छन् । भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन दिवा खाजा र छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम लाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको बताएका छन् ।
आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँहरूमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरूवात गरेको समेत स्पष्ट पारेका छन् । विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको उनको भनाई छ ।
त्यसैगरी अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका छन् । यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता/आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको बताएका छन् ।
‘प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ । शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घसंस्थाहरू लगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रूपान्तरण गर्न हामी सबै लाग्नुपर्ने छ । हामी सबैको योगदानले साक्षर नेपालको अभियान सार्थक बनाउन सक्छौं’ उनले भनेका छन् ।










प्रतिकृया दिनुहोस्