- १० श्रावण २०८१, बिहीबार १९:४८
काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्ति गरेको हो ।
यसअघि उनी कायममुकायम मुख्यसचिवको रूपमा काम गर्दै आएकी थिइन् । सरकारको यो निर्णयसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको छ । कर्मचारीको नेतृत्वमा एक महिनाका लागि सरकारले गड्तौलालाई नियुक्ति दिएको हो ।
नेपालको इतिहासमा उनी पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्यसचिव हुँदै मुख्यसचिव बनेकी छन् । तत्कालीन मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले उक्त जिम्मेवारी पाएकी थिइन् ।
अख्तियारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो ।
उनी प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव थिइन् । गड्तौला वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सूचीमा थिइन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई कामु मुख्यसचिव बनाएको थियो । तत्कालीन सरकारले आफू अनुकूलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म कायम मुकायम मुख्यसचिवको रूपमा उनलाई नियुक्त गरेको थियो । तर वर्तमान सरकारले उनलाई पूर्ण जिम्मेवारी दिएको हो ।










प्रतिकृया दिनुहोस्