- २५ असार २०८१, मंगलवार १५:१३
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ। समितिले मंगलबार निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो।
समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिए। समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो।
त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो। विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण (रेट्रोफिटिङ) सुरू गरिएको थियो। दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि ६ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए।
समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सिलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए। त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए।
यादवका अनुसार पुस्तकालयामा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन्। यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन्। यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए।










प्रतिकृया दिनुहोस्