- ८ बैशाख २०८१, शनिबार ०९:०३
काठमाडौँ । त्रिभुवन विपरिश्वविद्यालयका विभिन्न क्याम्पसमा तालाबन्दी गरिएको छ । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस र पाटनस्थित पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।
अमृतमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले चैत ३० गतेदेखि तालाबन्दी गरेको हो । पाटन संयुक्तमा भने नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले चैत ५ गतेदेखि तालाबन्दी गरेका छन् । दुवै क्याम्पसको ताला अहिलेसम्म पनि खुल्न सकेको छैन ।
क्याम्पसहरूमा लगाइएको तालाबन्दी नखुल्दा स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरू परीक्षा फारम भर्नबाट वञ्चित भएका छन् । वैशाख १६ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदैछ । तर, लामो समयदेखिको तालाबन्दीका कारण विद्यार्थीहरूले परीक्षा फारम भर्न पाएका छैनन् । जसले गर्दा उनीहरू परीक्षा दिनबाट वञ्चित हुन देखिएको छ ।
नेविसंघ पाटन संयुक्त क्याम्पसका सभापति तारा शर्माले विभिन्न माग राखेर ३२ दिनदेखि तालाबन्दी गरिएको बताए । शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, क्यान्टिनको व्यवस्था गर्नुपर्ने, बीएससी सीएसआईटीका लागि कम्प्युटरको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट तालाबन्दी गरिएको शर्माले बताए ।


क्याम्पस प्रमुखले विद्यार्थीलाई भर्ना हुनबाट रोक लगाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अनेरास्ववियु केन्द्रीय सदस्य तथा स्ववियु सचिव रुद्रहरि पोखरेलले बताए ।
परीक्षा नजिकिँदै गर्दा क्याम्पसहरूमा तालाबन्दी हुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । परीक्षा दिन फारम भरेका विद्यार्थीहरूको परीक्षा फारम परीक्षा नियन्त्रण कार्यालयमा पठाउन नसकिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख डाक्टर लोक बहादुर बरालले चैत ३० गतेदेखि लागेको तालाबन्दीका कारण दैनिक प्रशासनिक र शैक्षिक गतिविधि प्रभावित भइरहेको जनाएको छ ।
क्याम्पसका हरेक समस्याहरूको समाधान वार्ताको माध्यमबाट पुरा गर्न सकिने र वार्ता नै उत्तम विकल्प रहकोले जिम्मेवार भई विद्यार्थीका जायज समस्याहरू मात्र लिएर वार्तामा आउन क्याम्पस प्रमुख बरालले अनुरोध गरे ।











प्रतिकृया दिनुहोस्