- २८ चैत्र २०८०, बुधबार ११:३९
नर्सरीको अधिकतम मासिक शुल्क ३७ सय, कक्षा १० को ५९ सय
नागार्जुन नगरपालिकाले निजी (संस्थागत) विद्यालयले लिन पाउने शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले शैक्षिक सत्र ०८१ मा विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको हो ।
नगरपालिकाअन्तर्गत शिक्षा तथा सामाजिक शाखा प्रमुख कृष्णबहादुर कुँवरका अनुसार नगरपालिकाले निर्धारण गरेको शुल्क कडाइका साथ लागू हुनेछ । ‘तोकिएको शुल्क कार्यान्वयनमा कुनै सम्झौता हुन्न,’ प्रमुख कुँवरले भने । नगरपालिकाका अनुसार शिक्षा नियमावली, ०५९ अनुसार निजी विद्यालयको शुल्क निर्धारण गरिएको हो । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, ०७२ अनुसार विद्यालय वर्गीकरणका आधारमा आगामी शैक्षिक सत्रदेखि विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा कायम भएको छ ।
– युकेजी पढ्ने विद्यार्थीलाई ‘क’ श्रेणीका विद्यालयले चार हजार ५०, ‘ख’ श्रेणीकाले तीन हजार दुई सय ५० र ‘ग’ श्रेणीकाले २६ सय शुल्क लिन सक्नेछन् ।
– कक्षा एकमा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले ४२ सय, ‘ख’ श्रेणीकाले ३३ सय ७५ र ‘ग’ श्रेणीकाले २७ सय रुपैयाँ मासिक शुल्क लिन पाउनेछन् ।
– कक्षा दुईमा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले ४३ सय ५०, ‘ख’ श्रेणीकाले ३५ सय र ‘ग’ले २८ सयसम्म शुल्क लिन पाउनेछन् ।
– कक्षा तीनमा पढ्ने विद्यार्थीबाट ‘क’ श्रेणीका विद्यालयले ४५ सय ५०, ‘ख’ श्रेणीले ३६ सय ५५ र ‘ग’ श्रेणीका विद्यालयले २९ सय रुपैयाँ शुल्क लिन सक्नेछन् ।
– कक्षा चारमा पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ४६ सय ७५, ‘ख’ श्रेणीकाले ३७ सय ५० र ‘ग’ श्रेणीकाले तीन हजार शुल्क लिन पाउनेछन् ।
– कक्षा पाँचमा पढ्ने विद्यार्थीका लागि ‘क’ श्रेणीका विद्यालयले ४८ सय ५०, ‘ख’ श्रेणीकाले ३८ सय ७५ र ‘ग’ श्रेणीका विद्यालयले ३१ सय रुपैयाँ शुल्क लिन पाउनेछन् ।
– कक्षा ६ मा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले पाँच हजार, ख श्रेणीकाले चार हजार र ‘ग’ श्रेणीकाले ३२ सयसम्म शुल्क लिन सक्नेछन् ।
– कक्षा सातमा पढ्नेलाई ‘क’ श्रेणीका विद्यालयले ५१ सय ५०, ‘ख’ श्रेणीकाले ४१ सय २५ र ‘ग’ श्रेणीकाले ३३ सयसम्म शुल्क लिन पाउनेछन् ।
– कक्षा आठमा पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ५३ सय २५, ‘ख’ श्रेणीकाले ४२ सय ५० र ‘ग’ श्रेणीकाले ३४ सय रुपैयाँ लिन पाउनेछन् ।
– कक्षा नौमा पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ५८ सय, ‘ख’ले ४६ सय २५ र ‘ग’ श्रेणीका विद्यालयले ३७ सयसम्म शुल्क लिन सक्नेछन् ।
– कक्षा १० पढ्नेबाट ‘क’ श्रेणीका विद्यालयले ५९ सय ५०, ‘ख’ श्रेणीकाले ४७ सय ५० र ‘ग’ श्रेणीकाले ३८ सय शुल्क लिन सक्नेछन् ।
– कक्षा ११ र १२ पढ्ने विद्यार्थीका लागि भने एउटै शुल्क निर्धारण गरिएको छ । कक्षा ११ र १२ पढ्ने विद्यार्थीबाट ‘क’ श्रेणीका विद्यालयले सात हजार, ‘ख’ श्रेणीकाले ५६ सय र ‘ग’ श्रेणीकाले ४५ सयसम्म शुल्क लिन पाउने भएका छन् ।










प्रतिकृया दिनुहोस्