- १३ माघ २०८०, शनिबार १८:०५
अयोध्याको राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठाको कार्यक्रममा सहभागी हुन निम्ता आएपछि त्यो ऐतिहासिक र अलौकिक कार्यक्रममा सहभागी हुन म पनि अयोध्या गएको थिएँ ।
मसहित पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक कल्याण तिमिल्सिना , बिश्व हिन्दू परिषद्को बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउद, र प्रभात रेग्मी टोलीमा रहेका थियौँ । भैरहवा जान बिमानस्थल पुग्दा पशुपतिनाथका मुल भट्ट भेट हुनुभयो । हाम्रो टोली भैरहवा हुदै सोही दिन अयोध्या पुग्यो ।
भैरहवाबाट १८५ किलोमिटर मात्र टाढा रहको अध्योध्या पुग्दा थाहा भयो सहर पुरै फुलले ढाकिएको थियो । फुलमलय थियो सहर । अयोध्या पुगेको भोलिपल्ट हनुमानगढीको दर्शन गरियो । अयोध्या पुगेलगत्तै यस स्थान धार्मिक एकता, सांस्कृतिक पर्यटन र आर्थिक गतिबिधिको भरपुर उपयोग गरिरहेको अनुभव भयो । हामीले पशुपतिनाथमा मात्र कुनै धार्मिक पर्यटकीय आकर्षण दिन सक्यौँभने भारतबाट मात्र करोडौँ पर्यटक सहभागी हुने कुरामा कुनै शंका छैन । राम मन्दिर निर्माणको बेला पनि केही आलोचना नभएको होइन तर मन्दिरबाट त्यस क्षेत्रमा भएको आर्थिक कायापलटको अब कुनै हिसाब हुदैन । यही मन्दिरको स्थापनाबाट पनि अब यस क्षेत्रको विकासले फड्को मारेको छ ।
अब यहाँको विकास खरायोका गतिमा दौडिएको देखिन्छ । राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठा कार्यक्रममा करिब ७ हजार व्यक्तिलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरेको थियो । त्यस दिन आरएसस प्रमुख मोहन भागवत, पूर्व उपराष्ट्रपति बैंकैया नायडू, मुकेश र नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल थिए । कार्यक्रममा पुग्दा भारतका चर्चित कलाकारहरु, क्रिकेट खेलडी सचिन तेल्दुकर लगायतका व्यक्तिहरु उपस्थित थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र आरएसएसका प्रमुख एकै स्थानमा रहनु भएको थियो । राममन्दिरका महन्थले मोदीको वर्णन गर्दै मन्दिरको प्राणप्रतिष्ठाका लागि अनुरोध गरे । प्राणप्रतिष्ठाका लागि केही दिनदेखि निराहार बस्नुभएका मोदीले ११ दिनदेखी खाटमा नसुती भुईमा नै सुत्नु भएको रहेछ । ११ दिन भित्र उहाँले अमरनाथ, नासिर, रामेश्वर, तामिलनाडू लगायतका नौ विभिन्न धार्मिकस्थलको दर्शन गर्नुभएको रहेछ । त्यसदिन पनि निराहार रहनुभएका मोदीले साढे १२ बजेपछि करिब ९० मिनेट प्राणप्रतिष्ठाको पूजा गर्नुभयो । नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राणप्रतिष्ठाको विधि गराउनुभयो ।
मोदीले रामलल्लाको आँखाको पट्टी हटाएर हातमा कमलको फूल लिएर पूजा गर्नुभएको थियो । रामलल्ला पीताम्बराले सजिएका थिए भने हातमा धनुष र बाण रहेको थियो । सोमबार बिहान मंगल ध्वनीबाट कार्यक्रमको सुरुवात भएको थियो । बिहान १० बजेदेखि १८ राज्यका ५० वटा बाजा बजिरहेका थिए । अयोध्यामा जताततै राम नामका झण्डा फहराइरहेका थिए । सडकमा जय श्रीरामको नारा गुञ्जिरहेको थियो । घाटहरू चम्किरहेका थिए र श्रीरामको ध्वनीका साथमा सम्पूर्ण अयोध्या सहर सुन्दर देखिन्थ्यो र अलौकिक महसुस भएको थियो ।

प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीलाई पुजारीले फलफुलको रस दिनुभएको थियो । प्राणप्रतिष्ठापछि मोदीले कुनै राजनीतिक भाषण गर्नुभएन । उहाँले भगवान राम उत्प्रेरणाको स्रोत भएको भन्दै रामको राज्यमा कसैलाई बिभेद नहुने बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो– केहीले भनेका थिए राम मन्दिर बनेमा आगो लाग्छ । राम मन्दिरले आगोलाई होइन उर्जालाई जन्म दिएको छ । त्यस बेला भित्रको वातावरण पुरै सन्नाटा छाएजस्तो भएको थियो । सबका आँखा टिलपिलाएका थिए ।
रामलल्लाको पहिलो तस्बिर देख्नेबित्तिकै भक्तजनमा यस्तो हर्षोल्लास भयो कि धेरैको आँखामा आँसु आयो । सम्बोधन सकिएपछि मोदी अतिथीहरुसँग कुराकनी गर्न आउनुभयो । भित्र कार्यक्रम चलिरहदा बाहिरबाट हेलीकप्टरले पुष्पबृष्टि भैरहेको थियो । त्यसदिन अयोध्या एकातार्फ राममय थियो भने अर्कातर्फ प्रधानमन्त्रीको यस कामको पनि प्रशंसा भएको थियो । आफू नै प्रत्यक्ष उपस्थित भएर हेर्दा लाग्थ्यो कि त्यो एक अदुभुत कार्यक्रम थियो । त्यतिधेरै मानिस सहभागी भएको कार्यक्रमको पनि बडो उत्कृष्ट व्यवस्थापन देखियो । साधु सन्त र अन्य व्यक्तिलाई छुट्टा छुट्टै व्यवस्था गरिएको थियो ।

मन्दिरमा ४ ओटा सुनका ढोका राखिएका छन् । बाहिर पटाङ्गीनी बाट ५० मिटर हिडेपछि सो सुनको ढोका पुग्न सकिन्छ । त्यहाबाट २० मिटर हिडेपछि मुल मन्दिरमा पुग्न सकिन्छ । एक हजार बर्षसम्म नभत्कने दाबी गरिएको मन्दिरमा सिमेन्ट तथा फलामको प्रयोग गरिएको छैन । १४ मिटर लामो त जग नै बनाइएको छ रे । यहाँ राजस्थानको मार्वल बढी प्रयोग भएको छ ।
कार्यक्रममा भारतका पच्चीसै प्रान्तका संगीत साधकहरुबाट बिशेष संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रम हेरिरहुँजस्तो थियो र आँखा झिमिक्क गर्न मन लाग्दैन थियो । कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले पटकपटक जनकपुरको नाम लिएपनि नेपालको नाम लिएको भने सुनिएन ।
प्राणप्रतिष्ठाका लागि करिब १५० मुलुकबाट बिभिन्न सगुनहरु पठाइएको रहेछ । १०८ मिटर लामो धुप देखी १८० लिटर घीउ जाने पानसमा दिप प्रज्वलन गरिएको थियो । मन्दिर पुरै फूल नै फूलले सजाईएको थियो ।
देवताहरुको भूमि । हाम्रो देश त देवभूमि तपोभूमि । भगवान रामसँग हिन्दू वैदिक दर्शनको मात्र नभएर हाम्रो भूगोलको पनि सम्बन्ध छ । सीताको जन्मभूमि, अनि भगवान विष्णुकै अवतार राम र गौतम बुद्ध भएकाले गौतम बुद्धको जन्मभूमि । अनि सीताको जन्मभूमि । तर त्यहाँ अयोध्यामा भएको यति ठूलो अनुष्ठानमा हामी कहाँ थियौँ ? नेपालबाट सरकारले पनि एक प्रकारको यो निटकटता तथा धार्मिक सांस्कृतिक सम्बन्धका बारेमा कुनै न कुनै सन्देश दिनुपथ्र्याे ।
हुनु भएका अन्य साथीहरुले पनि बिभिन्न उपहारहरु चढाउनु भएको थियो ।
सो कार्यक्रममा डा आरकेसीसँग पनि भेट भयो । उहाँ भारतको प्रतिष्ठित पद्यभूषणबाट बिभूषित हुनुभएको व्यक्तित्व हुनुहुन्छ । यस्ता कैयौँ विद्वान विदूषी, समाजका प्रतिष्ठित व्यक्तित्व तथा सेलिब्रेटीहरुसँग पनि भेटघाट र कुराकानी हुन पायो । यस कार्यक्रमका आयोजकहरुलाई मनमनै धन्यवाद दिएँ । सारमा भन्दा यो एक अलौकिक र ऐतिहासिक कार्यक्रम थियो । जय श्रीराम ।










प्रतिकृया दिनुहोस्